दृष्टिकोण (कथा)

मेरो क्याम्पसको क्लासमा उनी सधैँ हुन्थिन् । उनी प्रायः अगाडिका दोस्रो वा तेस्रो बेञ्चमध्येमा बसेकी हुन्थिन् । साठी–सत्तरी जना जति भएको क्लासमा उनको छुट्टै पहिचान थियो । उनी त्यस्तै बीस एक्काइसकी हुँदिहुन् । अल्गो कद, गोरो वर्ण, सामान्य अरू केटीभन्दा केही मोटीजस्ती तर हँसिलो अनुहारकी धनी तथा पुष्ट शरीर भएकी । उनी खुलेर हाँस्ता कक्षा कोठा नै उज्यालो भएझैँ लाग्थ्यो मलाई । खचाखच भरिएको कक्षा कोठामा छिर्नेबित्तिकै मेरा आँखाहरू उनलाई खोज्न दौडन्थे । उनीसँग आँखा जुध्नासाथ मानसिक आनन्दले म प्रफुल्ल बन्थेँ । शरीरमा थप ऊर्जा थपिएको भान हुन्थ्यो । एउटा मनोवैज्ञानिक आनन्द !

उनको बडी ल्याङ्ग्वेज र हाउभाउ नियाल्दा उनी पनि मेरी राम्रै फ्यान हुन् जस्तो लाग्थ्यो मलाई, यद्यपि क्लासका अरू विद्यार्थीहरू पनि मेरो राम्रै प्रशंसक थिए । सबै छात्र–छात्रासँग मेरो राम्रै सम्बन्ध थियो, यद्यपि आफूले रूचाएको मान्छेको मन जित्ता भने सामान्यभन्दा बढी आनन्द लाग्दोरहेछ ।



कक्षाबाहिर पनि म कुनै न कुनै रूपमा उनीसँग निटकता कायम होस्, विद्यार्थीका रूपमा मात्र होइन, एउटी हितैषी साथीका रूपमा पनि सम्बन्ध विस्तार होस् भन्ने चाहन्थेँ तर त्यस्तो अवसर प्राप्त भएको थिएन । फेरि राम्री केटीहरूलाई केटाहरू घेराबन्दी पारेर राख्थे । केटाहरूको घेराबन्दी तोडेर चियाकफीका लागि वातावरण बनाउन सजिलो हुँदैनथ्यो । बढी चासो राख्दा केटाहरूको बक्र दृष्टिमा परिएला भन्ने डर । केटीका मामलामा सबै प्रतिपक्ष । म अनुकूल समयको पर्खाइमा थिएँ ।

“एक्सक्युजमी सर”
क्लास सकेर म कक्षा कोठाबाट बाहिर निस्कनै लाग्दा कुनै छात्राको मीठो स्वरले मेरा पाइला टक्क रोकिए । पछिफर्केर हेरेँ । उनै परी पो रहिछिन् । नामसम्म थाह थिएन मलाई । उनी आफ्ना ठूला र आकर्षक गाजलु नयनले मलाई हेर्दै थिइन् । केही डर र केही रहर मिश्रित त्यस हेराइले मेरो मुटुको छेउतिरको कुनै तार झङ्कृत गराइदियो । कस्तो विचित्र, उनीसँग मैले कुनै दीर्घकालीन सम्बन्ध राख्नु थिएन तैपनि म केही न केही संकोचीजस्तै भएँ ।
“एस् नानु” मैले पनि उनका आँखामा आँखा मिलाउँदै भनेँ ।
“सर आज हजुरसँग बसेर कफी खाने मन छ । हजुरको अनुकूलता कस्तो होला ?”
मलाई त ‘के खोज्छस् काना– आँखो’ भनेझैँ भयो । संयोगले त्यसपछि मेरो क्लास पनि थिएन । त्यसैले उनको प्रस्ताव भुइँमा खस्न नपाउँर्दै अनुमोदन गरेँ– “भइहाल्छ नि नानु”
“त्यसो भए कहाँ बसौँ सर ?”
“क्याम्पसपछाडिको मिलन क्याफेमा के होला ?”
“हुन्छ सर, त्यहीँ जौँ ।”

कुरा मिल्यो । दुबै केही अघि–पछि गरेर मिलन क्याफेमा छि-यौँ । उनैले केही एकान्तको क्याविन रोजिन् । मलाई पनि ठीकै लाग्यो । दशैँ विदा हुनुको केही अगाडिको समय । वातावरण रमाइलो थियो । अझ क्याविन टेबलको बीचमा रहेको रातो गुलाफले थप रौनकता थपिदिइको थियो । उनले मेरो रूचि नसोधी भेज स्याण्डविच र कफीको अर्डर गरिन् ।

“म हजुरको फ्यान हुँ नि सर । हजुरले लिने कुनै क्लास पनि म मिस गर्दिन । साहित्य लेख्न नसके पनि पढ्न र सुन्न खुब रमाइलो लाग्छ । त्यही भएर होला, हजुरको साहित्यिक प्रस्तुति कस्तो मन पर्छ मलाई । हरेक क्लास एउटा साहित्यिक कार्यक्रमजस्तो लाग्छ ।” प्रशंसाको पुल बनाउँदै उनले कुरा आरम्भ गरिन् ।

“धन्यवाद नानु । शिक्षकले पढाएको कुरा विद्यार्थीले मनपराइदिए शिक्षकका लागि त्यो सम्मान र पुरस्कार दुबै हुन्छ । म विद्यार्थीको अभिरूचि र स्तरलाई विशेष ध्यान पु-याउने कोसिस गर्छु, त्यत्ति मात्र हो । कोर्षभन्दा बाहिर गएर पढाउन समय पुग्दैन, नत्र अझ रमाइलो पार्न सकिन्थ्यो । तैपनि मेरा प्रस्तुतिलाई मन पराइदिएकोमा धन्यवाद नानु”

“सर, विद्यार्थीका हुलमा हजुरहरूलाई सबै विद्यार्थी चिन्न गाह्रो पनि होला । अनुहार हेर्दा चिनेजस्तो लाग्ने तर नाम थाह नहुने । म हजुरलाई सजिलो बनाइदिन्छु । म सीमा लामिछाने । घर झापा । मैतीदेवीमा डेरा गरी बस्छु । जबदेखि हजुरको क्लास लिन थालेँ, एकदिन पनि मिस गरेकी छैन । अरू सरहरूको क्लास पनि रामै्र लाग्छन् तर विशेष गरी हजुरको क्लासचाहिँ विशेष नै लाग्छ । सरको स्माइलिङ फेस र प्रस्तुति दुबै आकर्षक छ । अरू साथीहरू पनि त्यसै भन्छन् ।”

“कम्प्लिमेन्टको लागि धन्यवाद नानु, तिमी पनि अन्यथा रूपमा नलेऊ, मलाई पनि क्लासमा तिम्रो उपस्थिति विशेष नै लाग्छ । ताराहरूले धेरिएको चन्द्रमाजस्तै ।” भन्न त धेरै चाहेको थिएँ तर यत्ति मात्र भन्न सकेँ । अन्यथा अर्थ लाग्ला कि भन्ने डर भयो ।

तस्विरमा लेखक एलपी पौड्याल

“सर पनि मलाई फुक्र्याउन थाल्नुभयो । कहाँ सरहरू, कहाँ हामी सामान्य विद्यार्थी । तुलना नै हुँदैन ।”

“होइन सीमा, मेरा नजरमा तिमी पनि विशेष नै छ्यौ । तिम्रो ड्रेस कन्सेस, हँसिलो र उज्यालो अनुहार तथा पढाइप्रतिको लगाव देखेर तिमी कुनै राम्रो परिवारकी सदस्य हौ होला जस्तो लाग्छ । विद्यार्थीले राम्रो शिक्षक पाउनु भाग्य हो भने शिक्षकले पनि राम्रो विद्यार्थी पाउनु भाग्य नै हो । मलाई लाग्छ तिमी सुसंस्कृत परिवारकी छोरी हौ । यसरी नै तिमी आफूलाई अरूभन्दा विशेष बनाएर राख । अनि, तिम्रा बाबा–आमाचाहिँ के गर्नु हुन्छ नि ?”

मेरो प्रश्नले उनी भावुक बनिन् । उनको उज्यालो अनुहारमा अचानक कालो बादल मडारिएजस्तै भयो । उनका ठूला ठूला दुई नयनहरू टिलपिल टिलपिल भए । म स्तब्ध भएँ । उनी आँखाको पानीलाई झर्नबाट रोक्न टाउको उठाएर सिलिङतिर हेर्न लागिन् । मलाई पनि कता–कता नरमाइलो लागेर आयो ।
“सरी नानु, मैले तिम्रो मन दुखाएँ ।”
“… … … …”

“नानु, कफी लेऊ ।” मैले एक हातले कफीको कप उठाएर चुस्की लिँदै अर्को हातले टेबलको केन्द्रीय भागमा रहेको रातो गुलाबका पत्रहरूलाई विस्तारै स्पर्श गर्न लागेँ । म कहिले गुलाब र कहिले सीमालाई पालैपालो हेर्न लागेँ ।

सीमाले हाते ब्यागबाट सेतो रूमाल झिकेर आँखाको काजल नलत्पतिने गरी विस्तारै आँशु पुछिन् । सामान्य अवस्थामा आउन उनलाई केही समय लाग्यो । केहीबेरपछि उनी पनि कफीको चुस्की लिन थालिन् । त्यसको केही बेरपछि हिम्मत जुटाएर सोधेँ– “नानु, तिमी मेरो के कुराले यति धेरै भावुक बन्यौ ? तिम्रो भावुकताले मलाई पनि नरमाइलो बनायो ।”
“मेरो बाबा हुनुहुन्न सर । बाबाको प्रसङ्ग आउनासाथ म भावुक हुन्छु ।” उनको जवाफले मलाई पनि चस्स छोयो ।
“सो सरी नानु ।”
“… … … …” उनले नबोली टाउको मात्र हल्लाइन् ।
केही क्षण क्याविनमा मौनता छायो ।

“सर, बाबाको प्रसङ्ग आइहाल्यो । आज म हजुरलाई मेरो जीवन–भोगाइको एक टुक्रा सेयर गर्न चाहन्छु । हजुरले यसलाई अन्यथा नमानिदिनु होला ।”
मैले कल्पना नगरेको कुरा हुँदै थियो तैपनि हतार हतार भनेँ– “केही छैन नानु, भन न । तिम्रो भावनालाई म कसरी अन्यथा मान्न सक्छु र ?”
“थ्याङ्क्यु सर ∕” उनले एउटा दीर्घ सास लिइन् र कथा आरम्भ गरिन्– “मेरा बाबा–मामुको प्रेम–विवाह भएको थियो रे । बाबा बाहुनको छोरा, मामु क्षेत्रीकी । यस विषयले त्यति बेला निक्कै ठूलो सामाजिक बहस पनि भयो रे । लामो वादविवादपछि अन्ततः प्रेमकै जित भएछ । दुबै स्थानीय माविमा पढाउनु हुन्थ्यो । बिहेपछि बाबा छोरी होस् भन्ने चाहना गर्ने रे, मामु छोरोको । जित बाबाको भयो, म जन्मेँ । बाबा खुसीले पुलकित । बाबाको खुसीमा मामुले पनि साथ दिनुभयो । मैले बाबा–मामुबाट असाध्य धेरै माया र स्नेह पाएँ र त्यस्तै मायालु वातावरणमा हुर्केँ । मलाई कुनै कुराको अभाव हुन दिइएन । हाम्रो सानो परिवार हाँसी–खुसीमा नै बित्तै थियो । सुखको समय चाँडै बित्छ भन्छन् । मैले त्यही माविबाट एसएलसी पास गरेँ र त्यहीँबाट प्लस टु पनि सकेँ । पहिलाको मावि पछि उच्चमावि भएको थियो ।”

म एकटकले उनको कुरा सुन्दै गएँ ।
“यसैबीच हाम्रो परिवारमा एउटा अत्यन्त दुखद् र अविस्मरणीय घटना घट्यो । हाम्रा सुखका दिनहरू सिद्धिए… ।”
एकछिनको मौनतापछि कथा आरम्भ गरिन्– “एकदिन विद्यालयको कामविशेषले बाबा सदरमुकाम चन्द्रगढी जानुभएको थियो, काम सकेर घर फकिने क्रममा लक्ष्मीपुर भन्ने ठाउँमा बाइक दुर्घटनामा पर्नु भएछ । एउटा अनियन्त्रित ट्रकले बाबालाई ठक्कर दिएर भागेछ† बाबाको स्पोट डेथ…” बोल्दाबोल्दै उनको बोली भासियो । केहीबेर रोकिएर पुनः आध्र स्वरमा थपिन्– “त्यो समय म घरमैँ थिएँ । मामु भर्खरै मात्र स्कुलबाट घर आइपुग्दै हुनुहुन्थ्यो, मेरो मोबाइलमा बाबाको दुर्घटनाको खबर आयो । मनमा चिसो पस्यो तर पत्याइहाल्न पनि सकिँन । होइन होला, कसैले भद्दा मजाक ग-यो कि भन्ने लाग्यो । तर हो रहेछ । मलाई आफ्नै घरमा कुनै अणु बम खसेर सबै कुरा क्षणभरमा नै ध्वस्त भएझैँ लाग्यो । रूवाबासी शुरू भयो । मामु त बेहोसै हुनुभयो । सारा गाउँले भेला भए, ढाडस र शान्त्वना दिए तर एउटा अपूरणीय क्षति भइसकेको थियो ।”

“भोलिपल्ट दिउँसो लासको पोष्टमार्टम गरेर मेची अञ्चल अस्पतालबाट सिधै कन्काई माईको किनारमा ल्याइयो । शिक्षक, विद्यार्थी, गाउँले, शुभचिन्तक आदि सारा दुनियाँ उल्टेर माई खोलाको किनारमा अन्तिम श्रद्धाञ्जलि दिन जम्मा भए तर बाबाले उहाँका शुभचिन्तकहरूलाई हेर्न र चिन्न सक्नुभएन । उहाँ उठ्नु भएन । मेरो आँशुले पनि उहाँलाई जगाउन सकेन । उहाँको क्षतविक्षत भएको निर्जिव शरीर शान्त मुद्रामा चिर निद्रामा सुतिरह्यो । अन्तिम क्षणमा मैले बाबाको मुख राम्ररी हेर्न पनि सकिनँ । तर, विभिन्न विवाद र भिन्न मतहरूका बीच मैले नै बाबालाई दागबत्ती दिएँ ।”

“जीवनमा जत्रोसुकै बज्रपात परे पनि सहनै पर्दोरहेछ । सँगै जान नसकिने । मैले त बाबालाई गुमाएँ नै, मामुको बेहाल भयो । म मामुको नजिक पर्न सक्तिनँथेँ । मेरो अनुहारमा बाबाको अनुहारको झल्को आउँछ रे, त्यसैले होला मामु मलाई देख्यो कि पग्लिन थाल्नुहुन्थ्यो । ढुकुरको जस्तो जोडीलाई दैवले एक्ल्याएपछि के भनेर सम्झाउने ? त्यसको क्षतिपूर्ति के हुन सक्थ्यो र ? उहाँका अगाडि एउटा कहालीलाग्दो जीवन खडा थियो । म दुःखी हुन्छु भनेर मामु कोठा बन्द गरेर एक्लै रूनु हुन्थ्यो । म थाहापाइहाल्थेँ । मामुको त्यो अवस्था देखेर म झन् बढी मर्माहत हुन्थेँ । विकल्प केही थिएन । तैपनि दिनहरू बित्तै गए ।”

“मेरो १२ को रिजल्ट भयो । राम्रै गरी पास गरेँछु । मामुले नै मलाई काठमाडौैँ गएर अध्ययनलाई निरन्तरता दिन प्रेरित गर्नुभयो । उहाँले झापामा रहुञ्जेल बाबाको सम्झनाका कारण पढाइमा बाधा पुग्छ भन्ने ठान्नुभयो होला । मलाई पनि ठीकै लाग्यो । किनकि म पनि बाबाको स्मृति आउने ठाउँबाट केही टाढा जान चाहन्थेँ । त्यसपछि म काठमाडौँ आएँ । यस क्याम्पसमा भर्ना भएँ । तर यस क्याम्पसले त बाबाको याद झन् ताजा गराइदियो…।”

उनी केहीबेर रोकिइन् । ‘यस क्याम्पसले त बाबाको याद झन् ताजा गराइदियो..’ भन्ने वाक्यले केही झस्केझैँ भएँ म । उनलाई यहाँ कसरी त्यस्तो भयो होला भन्ने लाग्यो तर सोध्न सकिनँ । सोचेँ– दिवङ्गत बाबाको स्मरणले भावविह्वल भएको बेला उनलाई थप दुःखी बनाउनु हुन्न ।
“एउटा कुरा भनौँ सर ?” सजल आँखाले मतिर फर्केर उनले अनुमति मागेझैँ गरिन् ।
“भन न नानु” मेरो पनि गला भासिएझैँ भएछ ।

“फेरि पनि अन्यथा नमानिदिनु होला सर ।” केही भूमिकासहित् भनिन्– “जबदेखि हजुरको क्लासमा बस्न थालेँ, मलाई बाबाको यादले सताउन थाल्यो । हजुरको स्माइलिङ फेस, विषयवस्तु प्रस्तुत गर्ने शैली र कतिपय अवस्थामा हाउभाउ पनि ठ्याक्कै मेरो बाबासँग मिल्छ । हेर्दैजाँदा अनुहार पनि कतैकतै मिलेजस्तो लाग्छ । यो कुरा मैले मामुलाई पनि मोबाइलबाट सेयर गरेँ, उहाँ पनि छक्क पर्नु भयो । जब हजुर क्लासमा आएर बोल्न थाल्नुहुन्छ, मलाई म मेरै बाबाको क्लासमा छु जस्तो, मेरो बाबा मैँसँग हुनुहुन्छ जस्तो भान हुन्छ मलाई । अनि कहिलेकाहीँ क्लासमै केही भावुकझैँ बन्छु भने कहिले म हजुरको अनुहार हेरेर मुस्कुराउन थाल्छु । मेरो त्यो अवस्था देखेर हजुर के सोच्नु हुन्थ्यो कुन्नि तर मचाहिँ बाबाको यादमा डुबेकी हुन्थेँ ।”

सीमाको कुरा सुनिरहँदा म उनको कुराले कति बेला रसाएँ, पत्तै भएन । क्लासमा उनको उज्यालो र हाँसिरहेको अनुहारलाई देखेर लगाएको अर्थ र यथार्थताका बीच कति ठूलो अन्तर हरेछ ∕ हामी मान्छेलाई पनि अमूर्त चित्रजस्तै आफूखुसी अर्थ लगाइदिन्छौँ । यथार्थ बुझ्नतिर ध्यान नै जाँदैन । सायद यो मानवीय कमजोरी होला ।

उनी बोल्दै थिइन्– “जब हजुरले मलाई नामको साटो ‘नानु’ भनेर सम्बोधन गर्नुहुन्छ, मलाई मेरै बाबाले बोलाएजस्तो लाग्छ, मेरो बाबा नै हजुरका रूपमा अवतरण भएझैँ लाग्छ । मलाई मेरो बाबाले पनि प्यारो गरेर ‘नानु’ भनेर सम्बोधन गर्नुहुन्थ्यो । अनि म झस्कन्छु । अहिले मेरो बाबा भइदिएको भए… …” उनी फेरि द्रवीभूत भइन् ।
पुनः केही क्षण मौनता छायो ।

“मलाई हजुरसँग बसेर यिनै कुराहरू सेयर गर्न मन थियो, तर भन्ने हिम्मत नै आउँदैनथ्योे । फेरि यस कुरालाई हजुर कसरी लिइदिनु होला भन्ने चिन्ता पनि थियो ।”
“आजचाहिँ कसरी हिम्मत जुटायौै त नानु ?”
“आज त मैले भन्ने पथ्र्यो नि सर”

“… … … …” केही नबोली मैले मेरा जिज्ञासु आँखाहरूले उनको अनुहार नियालेँ ।
“हजुरले बिर्सनुभयो होला, आज बाबुको मुख हेर्ने दिन हो नि सर ।”

उनको कुरा सुनेर म झन् बढी स्तब्ध भएँ । छाती ढक्क फुलेको जस्तो भान भयोे । मैले पुलुक्क अगाडि हेरेँ† सीमाको ठाउँमा मेरै सानी छोरी शुभेच्छा पो बसेकी रहिछन् । उनी कसरी त्यहाँ आइपुगिन् ? उनलाई देखेर मेरा आँखा रसाए । मैले मेरी छोरीलाई हात फैलाएर हार्दिकतापूर्ण स्वागत गरेँ । उनी सधैँझैँ दौडँदै मेरो अँगालोमा आइन् र उनका कोमल हातले मलाई बाँधिन् । मैले उनको निधारमा चुम्बन गरिदिएँ । निधारमा चुमेँँ भनेको त उनका ओठमा पो परेछ । उनले गहभरि आँशु पारिन् र मेरो अँगालोमा बाँधिइरहिन् । आजको उनको स्पर्शले भिन्नै अनुभूति दियो । मलाई अर्कै लोकमा पुगेको अनुभव भयो ।

“सर ” सीमाको बोलीले म झस्केँ । उनी भन्दै थिइन्– “आज बाबुको मुख हेर्ने दिन परेकोले यही अवसर पारेर हजुरसँग कफी खाने योजना बनाएँ तर मेरो निम्तो अस्वीकार गरिदिनु होला कि भन्ने डर थियो । हजुर आइदिनु भयो, मैले आफ्नो पीडा सेयर गर्न पाएँ, केही हलुका महसुस भयो । म हजुरप्रति आभारी छु सर ।”

सीमाको बोलीले मेरो तन्द्राको क्रमभङ्ग भइसकेको थियो । पारिजातको “मैले नजन्माएको छोरो” झैँ मेरो स्मृतिबाट छोरी शुभेच्छा पनि बिलाइसकेकी थिइन् । अगाडिको कुर्सीमा पुनः सीमा नै बसिरहेकी थिइन् ।

मैले सचेत हुँदै भनेँ– “त्यति धेरै आभारी पनि भइरहनु पर्दैन नानु । जसरी कुनै किताबको बाहिरी कभर हेरेर मात्र त्यसभित्रको ज्ञान र रहस्य थाहा हुँदैन, त्यसैगरी कुनै व्यक्तिको बाहिरी रूप हेरेर मात्र त्यस व्यक्तिको वास्तविक चरित्र र मर्म पनि थाहा हुँदैन रहेछ । आवरण हेरेर मात्र लगाइने अर्थ सतही हो । सायद यो मानवीय कमजोरी पनि होला । तिम्रो पीडायुक्त कहानी सुन्नु अगाडि र सुनिसकेपछि तिम्रा बारेमा मैले बनाएको दृष्टिकोणमा ठूलो परिवर्तन आइसकेको छ नानु । सम्बन्ध भनेको सम्बोधन मात्र होइन, दृष्टिकोण पनि हो । सम्बोधन जे गरे पनि सम्बोधन अनुसारको आचरण गर्न सकिएन भने मेरा विचारमा त्यस्ता सम्बन्धको कुनै अर्थ रहँदैन । अनि, सम्बन्ध बनाउन रगतकै नाता हुनुपर्छ भन्ने पनि छैन । त्यसैले यदि तिमीलाई सहज हुन्छ भने आजदेखि मलाई बाबाकै स्थानमा राखेर हेर्दा हुन्छ नानु । शिक्षक आखिरमा एउटा जिम्मेवार अभिभावक पनि हो । म तिम्रा बाबाका सबै व्यवहारको क्षतिपूर्ति त गर्न नसकौँला तर एउटा अभिभावकीय भूमिकाचाहिँ अवश्य निर्वाह गर्ने प्रयास गर्ने छु । सम्झ– आजदेखि म तिम्रो गुरु मात्र होइन, सदैव तिम्रो भलो चिताउने एक अभिभावक पनि हुँ । आत्माले स्वीकार गर्दा नै त ढुङ्गाको मुर्तिमा भगवान देखिने हो । होइन र नानु ?”

मेरो अभिव्यक्तिले सीमा पग्लिन् । उनका ठूला ठूला नयनबाट मोतीका दानाहरू सबै अवरोधहरू पार गर्दै टेबलमा तपतप झरे । उनले दुबै हातले आफ्नो अनुहार छोपिन् तर पनि वर्षा रोकिएन । उनको त्यो अवस्था देखेर मैले आफूलाई संयमित बनाउन सकिनँ । म आफ्नो ठाउँबाट जुरूक्क उठेर उनको नजिकै गएँ र अनुहार छोपिएको उनका हात हटाई आँशु पुछिदिने प्रयास गर्न लागेँ । मेरो सामिप्यता पाएर उनी भक्कानिएर उठिन् र मेरो छातीमा टाँसिएर मलाई अँगालोले बेरिन् । केही क्षण दुबै भावुक बन्यौँ । अन्ततः मैले उनको ढाडमा माया र स्नेहले थपथपाउँदै भनेँ– “धैर्य गर नानु । समयले हरेक प्रतिकूल परिस्थितिसँग जुद्धै अगाडि बड्न प्रेरित गर्नेछ । तर, जस्तोसुकै विषम अवस्थामा पनि तिमीले आफ्नो आत्मविश्वासलाई भने बचाइराख्न सक्नुपर्दछ ।”

२६ श्रावण ०७४

 

सम्बन्धित समाचार