कोरोना संक्रमणको ६ महिना पूरा, डब्ल्यूएचओ भन्छ- ‘खराब दिन आउन अझै बाँकी’

दक्षिण एसिया र अफ्रिकी मुलुकमा जुलाईमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्‍ने

नोभेल कोरोना भाइरसको संक्रमण विश्वमा पहिलो पटक पहिचान भएको ६ महिना पूरा भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । कोरोना भाइरसको महामारी सुरु भएको छ महिनापछि २९ जुन, २०२० को मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओले ‘खराब अवस्था आउन अझै बाँकी’ रहेको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अड्‌हानोम घेब्रेयसियसले सरकारहरुले सही नीति लागु नगर्ने हो भने भाइरसको संक्रमण अझै धेरै मानिसहरूमा देखिने बताए । उनले भने, ‘मेरो सन्देश उही नै छ- परीक्षण, पहिचान, आइसोलेसन र क्वारेन्टिन ।’ चीनमा गत वर्ष भाइरस देखा परेयता विश्वभरि एक करोडभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ भने पाँच लाखभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।



विश्‍वभर रहेको कोरोना संक्रमितको कुल संख्याको करिब ५० प्रतिशत अमेरिका र युरोपमा रहेकोसमेत डब्ल्यूएचओले जनाएको छ । पछिल्लो समय दक्षिण एसिया र अफ्रिकी मुलुकहरुमा पनि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भइरेकाले यो क्षेत्रमा जुलाईमा संक्रमण उच्च बिन्दुमा पुग्‍ने जनाइएको छ । उनले डब्ल्यूएचओले विश्वभर सक्रियतापूर्वक भाइरस नियन्त्रणका लागि आवश्यक लचिलोपना, आविष्कारमा जोड, एकता र सहयोगको भावको सञ्‍चार गरेका छौं । तर, महामारीमा गलत सूचनाको सम्प्रेषण र महामारीको राजनीतीकरणले कोरोना नियन्त्रणमा समस्या उत्पन्‍न गराएको बताइएको छ ।

२९ जुनको भीडीओ सन्देशमा भनेका छन्, ‘हामी सबैले यो अन्त्य होस् भन्‍ने चाहन्छौं । हामी सबै आफ्नो नियमित जीवनमा फर्किन चाहन्छौं । तर अप्रिय वास्तविकता के हो भने हामी यो अन्त्य हुने अवस्था नजिक पनि पुगेका छैनौं ।’ कैयौं देशहरूले त्यसको नियन्त्रणमा राम्रो प्रगति गरे पनि विश्वव्यापी रूपमा महामारी फैलिने गति नरोकिएको उनले बताएका छन् ।

उनले भने, ‘एक करोड संक्रमित र पाँच लाखजनाको मृत्यु हुँदा पनि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धताको अभाव र विभाजित विश्व जस्ता डब्ल्यूएचओले पहिचान गरेका समस्याले वास्तावमा भाइरसको संक्रमण विस्तारमा सहयोग पुर्‍याइरहेका छन्, जसको सम्बोधन नगर्दासम्म खराब अवस्था आउन अझै बाँकी छ । त्यसोभन्दा मलाई दु: लागेको छ तर यस्तो अवस्था र वातावरणका कारण हामीलाई खराब स्थितिको डर भएको हो ।’

उनले जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण दिँदै उनीहरूले चालेका कदम पछ्याउन अन्य सरकारहरूलाई आग्रह गरेका छन् । उनले ती देशहरूले व्यापक रूपमा परीक्षण र संक्रमितको पहिचानजस्ता उपाय अपनाएर प्रकोपलाई नियन्त्रणमा राखेका उनले उल्लेख गरेका छन् । विश्व स्वास्थ्य संगठनले विगत ६ महिनामा विभिन्‍न मुलुकहरुमा लाखौं कोरोना भाइरस परीक्षण किटहरु र व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) पठाउन एकताबद्ध उडानहरू सुरु गरेकोसमेत जनाइएको छ ।

डब्ल्यूएचओले कोरोना नियन्त्रणको दीर्घकालीन समाधान यसविरुद्धको खोप भएको बताइएको छ । तर, त्यसअघि हरेक मुलुकले पाँच कुरामा ध्यान दिन आग्रह गरिएको छ । जसमा :

– समुदायलाई सशक्त र दृढ बनाउने ताकि कोही पनि एक्लो छैन भन्‍ने महसुस गराउने
– संक्रमण नियन्त्रणमा जोड दिने र सकेसम्म समुदायिक संक्रमण फैलिनबाट रोक्‍ने
– परीक्षणको दायरा बढाएर संक्रमितको पहिचान गरी जीवन जोगाउने
– भाइरसको अनुसन्धान गर्ने
– राजनीतिक नेतृत्वले बलियो ढंगले संक्रमण नियन्त्रणका लागि पहल गर्ने

सम्बन्धित समाचार