भो, अब खोलौँ विद्यालय

कलिला मस्तिष्कका जिज्ञासु बालबालिकाहरू आफ्नो विद्यालय जान नपाएको आज १ सय ५ दिन नाघिसकेको छ । कोरोना भाइरसका कारण आफ्नो गत वर्षको वार्षिक परीक्षासमेत ढुक्कसँग दिन नपाएका ती अबोध बालबालिकाहरू यत्तिका लामो समयदेखि आफ्नो घरभित्रै कैदीजस्ता भएका छन् । यो कोरोनाको महामारी कहिले नियन्त्रण हुने, विद्यालय कहिले खुल्ने, पढाइ कहिले हुुने ? अनिश्चित छ, जसका कारण बालबालिकाहरू शिक्षाको उज्यालोबाट वञ्चित भएका छन् ।

आज खेल्ने, चल्ने, विद्यालय जाने उमेरका कलिला बालबालिकाहरूलाई लकडाउनले सबभन्दा धेरै मानसिक तनावमा पारिदिएको छ । घरभित्रै बस्नुको मानसिक पीडा र तनाव खपिसक्नु छैन । घरभित्रै छेकेर राख्दा चलिरहनुपर्ने चञ्चल बालस्वभाव लकडाउनका कारण आज कुण्ठित र निरश भएको छ । मुस्कुराइरहने अनुहारहरूमा आज मलिनता छाउन थालेको छ । उनीहरू निराश र टिठलाग्दा भएका छन् । साथीसँग भेटघाट गर्न, खेल्न कुद्न र हाँसखेल गर्न नपाउँदाको पीडा हामी वयस्कहरूले केवल अनुमान मात्र गर्न सक्छौं, अनुभव र महसुस गर्न सक्दैनौँ । खाऊँखाऊँ लाऊँलाऊँ गर्ने उमेरका बालबालिकासँग अहिले न पुस्तक छ, न त स्कुल नै । न साथी छन्, न त खेल सामग्री नै । न रमाइलो छ, न त स्फूर्ति र भविष्यप्रतिको कुनै आकांक्षा र योजना नै । छ त केवल कोरोनाको त्रास, लकडाउनको कोकोहोलो अनि घरबाहिर नजान अभिभावकको उर्दीमात्रै । फलस्वरूप यतिखेर उनीहरू कुण्ठित ,निराश र हीन मानसिकताका बीच घरभित्रै दिन कटाउन बाध्य छन् त्यतिमात्रै होइन, अहिले नै उनीहरूले बोलाउँदा झर्कने, टोलाउने, रिसाउनेजस्ता आक्रामक व्यवहारसमेत देखाउन थालेका छन् । मुलुकका भविष्यका कर्णधारमा आएको यो मनोदशा र नकारात्मक परिवर्तन मुलुकका लागि कदापि राम्रो लक्षण होइन, अत्यन्तै चिन्ताको विषय हो ।



विश्वमा संक्रमण बढ्दै गइरहेको कोरोना भाइरसका कारण सरकारले देशभरिका विद्यालयहरूलाई चैत्र ५ गतेभित्र आफ्ना सबै वार्षिक लगायतका सबै परीक्षाहरू सम्पन्न गर्न निर्देशन दिएपछि सबै विद्यालयहरू बन्द भए । एकाएक बन्द भएका विद्यालयहरू आज साढे तीन महिनाको अवधिमा पनि खुल्न नसक्दा खण्डहरजस्तै बनेका छन्, भूतबंगलाजस्तै भएका छन् । देशभरका सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थीहरू र उच्च शिक्षाअन्तर्गत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका एक हजार ४सय २५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरू आज घरमै सीमित छन् । हाल करिब २८ हजार सामुदायिक विद्यालयमध्ये चार हजार पाँच सयमा क्वारेन्टिन र ६४ मा आइसोलेसन कक्ष बनाइएको छ । आफूले शिक्षा आर्जन गर्ने, खेल्ने ,कुद्ने र साथीहरूसँग रमाइलो गर्ने पवित्र मन्दिरमा कोरोनाका बिरामी र आइसोलेसन कक्ष राखिएको, अनि अरू कसैलाई छिर्नसमेत नदिएको कुराले उनीहरूको बालमुटुलाई कति भतभत् पोलिरहेको होला ? के हामी ठूला भन्नेहरूले यस्ता कुरामा कहिल्यै मनोविश्लेषण र मनन गरेका छौँ ?

कोरोनाको असर अझ केही वर्ष रहने वैज्ञानिकहरूले बताइसकेका छन् । अन्योलपूर्ण शैक्षिक भविष्य बोकेका बालबालिका र तिनका अभिभावकहरूसमेत लामो समयको बन्दाबन्दीले दिक्क बनेका छन् । घरायसी कामकाज, मजदुरी र बरालिएर बस्नु बालबालिकाको दैनिक नियतिजस्तै बनेको छ । हामी अझ कति वर्ष बालबालिकालाई विद्यालय पठाउनबाट रोक्न सक्छौँ ? या उनीहरूको भविष्य र पढाइप्रति यसै गरी लकडाउनका नाममा कहिलेसम्म खेलाँची गर्न सक्छौँं ? ढिलै भए पनि अपनाउनुपर्ने सजगता र सतर्कतालाई समयमै अपनाएर अब विद्यालय सञ्चालन किन नगर्ने ? के विद्यालयलाई सधैभरि यसैगरी क्वारेन्टिन स्थल बनाएरै राख्न सम्भव होला ? विद्यालयलाई अध्ययन अध्यापन र सिकाइको केन्द्र बनाउने या क्वारेन्टिन स्थल बनाएरै राख्ने ? गम्भीर भएर समयमै सोच्नुपर्ने बेला आएको छ ।

स्वास्थ्य ठूलो त हो तर त्यसैका बहानामा अलमल गरिरहँदा हजारौं विद्यार्थीमा मानसिक विचलन आयो भने, बन्दाबन्दीकै कारण उनीहरूमा पढाइप्रति नै वितृष्णा जाग्यो भने या केहीले नतिजा कमजोर आएकै कारण पढाइप्रतिको रूचि त्यागे भने त्यसको जिम्मा कसले लिने ? त्यो घाटा कसलाई पर्छ ? स्वाभाविकरूपमा बालबालिकालाई मात्रै होइन, सिङ्गो परिवार, सिङ्गो समाज र प्रकारान्तरले यो राज्यकै लागि ठूलो घाटा हुनेछ र परिपूर्ति गर्नै नसकिने क्षति हुनेछ । अर्थतन्त्र, कृषिलगायत अरू क्षेत्रमा परेको क्षतिको भरण त हामी पछि पनि गर्न सक्छौं, तर विद्यार्थीको पढाइ र शिक्षा क्षेत्रमा पुग्ने क्षति हामी कहिल्यै पूर्ति गर्न सक्तैनौं ।
हुन त यो समय अत्यन्तै असामान्य र विश्वव्यापी महामारीको अवस्था भएको र मुख्य विषय नागरिक स्वास्थ्यको सुरक्षा रहेको हुँदा अरू विषयहरू गौण मानिनु स्वाभाविकै होला तर मुलुकको सुखद भविष्यको जगको रूपमा रहेको शिक्षा प्रणालीलाई यस्तो संकटपूर्ण अवस्थामा समेत कसरी अद्यावधिक र नियमित गर्न सकिन्छ भन्नेतर्फ भने अब सोच्नैपर्ने बेला आएको छ ।

आज युरोपलगायतका विकसित देशले विद्यालय सञ्चालनलाई निरन्तरता दिन थालेका छन् । वैज्ञानिक खोज र तथ्यमा आधारित भएर चल्ने कि लहड र भावनामा बग्ने ? समयमै सोचौँ । नेपालमा बढेको संंक्रमणको अनपेक्षित दर कडा बन्दाबन्दीकै बीचमा हो । वास्तविकतामा आधरित भएर तथ्यहरू विश्लेषण गरौँ । विनाऔचित्य र आधार विद्यालय बन्द गरेर महामारी रोक्ने उपाय बन्दाबन्दी नै हो भन्ने गलत छाप बालमस्तिष्कमा नपारौँ । लकडाउन त संक्रमण रोक्न आवश्यक सामाजिक दूरी कायम गर्न अपनाइएको व्यावहारिक अभ्यासमात्र हो । यो दिगो, स्थायी र वैज्ञानिक उपाय हुँदै होइन भन्ने यथार्थलाई हामीले किन आत्मसात् गर्न सकिरहेका छैनौँ ?

हाल लकडाउन खुकुलो भएको छ । बजारहरू खुलेका छन् । होटेल पसलहरू यथावत् रूपमा चल्न थालेका छन् । रेस्टुरेन्टहरूमा त्यत्तिकै चहलपहल छ । बजारमा भिडभाड बढेको पनि छ । उद्योग कलकारखानाहरू पनि सञ्चालन भएकै छन् । अत्यन्तै भिडभाड र अस्तव्यस्त रहने सरकारी कार्यालय मालपोत ,यातायात, नापी, अदालत, खानेपानी ,विद्युत्जस्ता कार्यालय पनि त खुलै छन् । तर बिडम्बना, जस्तोसुकै कठिन र अफ्ठेरो परिस्थितिमा समेत बन्द हुन नहुने शिक्षा क्षेत्रका लागि भने हामी अनावश्यक बन्दको एकतर्फी रटानमा अडिएको अडियै छौ । सारा क्षेत्र खुलिरहेको अवस्थामा शिक्षा क्षेत्र मात्रै बन्द गरिनुको निहितार्थ उद्देश्य के हो ? बुझिनसक्नु छ । कोरोनाको कहरले अर्थतन्त्रमा पुगेको क्षतिको भरण त हामी पछि पनि गर्न सक्छौं, तर विद्यार्थीको पढाइमा पुग्ने क्षति हामी कहिल्यै पूर्ति गर्न सक्तैनौं । नेपालको शिक्षा क्षेत्रभित्रको यो डरलाग्दो तस्बिर र संकटको यस घडीमा नेपालको शैक्षिक प्रणालीलाई कोमामा पुग्न नदिन अब हेलचेक्र्याइँ नगरौँ । त्यसैले शिक्षालय पुग्न जटिल रहेको यो भयावह अवस्थामा विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिहरूबाट टाढा हुन नदिन तत्काल विद्यालय खोलेर उनीहरूसँग भौतिकरूपमै शैक्षिक सम्पर्क मजबुत गर्न जरूरी भइसकेको छ ।

आज घरमै बसिरहेका नेपालका करिब ८० लाखभन्दा बढी विद्यार्थीहरूको शैक्षिक भविष्य कसरी नियमित गर्ने र बिग्रन नदिने भन्ने सन्दर्भमा उपयुक्त निर्णय लिन अबेर गर्नु हुँदैन । कोरोनाको हौवा देखाएर घरभित्रको अध्यारो कोठामा सीमित भएका ती सिर्जनशील, रचनात्मक र तिखा मस्तिष्कहरूमा खिया लाग्ने अवस्था सिर्जना नगरौँ । बरू सुरक्षाका उपायहरू अपनाउदै शैक्षिक गतिविधि बढाएमा मात्रै कोरोना महामारीविरूद्धको सचेतना र सजगता थप बढ्न सक्छ भन्ने यथार्थलाई मनन् गरौँ । किसानको कर्मथलो भूमि ,कर्मचारीको कर्मथलो कार्यालय, पुजारीको कर्मथलो मन्दिर भएझै विद्यार्थीको कर्मथलो भनेकै विद्यालय हो । विद्यार्थीलाई विद्यालय जानबाट वञ्चित गर्नु भनेकै उनीहरूको सिर्जनशीलता,रचनात्मकता र बौद्धिक विकासमा वाधा पु¥याउनु हो ,अवरोध सिर्जना गर्नु हो ।

कोरोनाको त्रास देखाएर कतै हामी आफैले ती खेल्ने, कुद्ने र रमाउने उमेरका बालबालिकालाई घरभित्रै थुनेर उनीहरूको व्यक्तित्व र शारीरिक विकासमा बाधा पुर्याइरहेका त छैनौं ? ती कलिला मस्तिष्कमा निराशा, कुण्ठा र हीनताबोध झन् डम्म भरिदिएका त छैनौ ? मनोवैज्ञानिक ढंगले गम्भीर चिन्तन गर्न जरूरी छ ।
आजभोलि कतिपय बुज्रुकहरु विद्यालय बन्द गरेर अनलाइन र भर्चुअल क्लासमार्फत शिक्षा दिने तर्क गरिरहेका छन् । उनीहरुकै प्रभावमा परेर सरकारले पनि असार १ गतेदेखि अनलाइन, भर्चुअल र दूरशिक्षाको हौवा पिटाइरहेको छ । तर यसले न त सबै बालबालिकालाई नै समेट्न सकेको छ, न त त्यति प्रभावकारी र परिणाममुखी नै । बरु शहरिया केही सीमित अभिभावकका आँखामा छारो हाल्ने प्रयास मात्रै भएको छ अनलाइन कक्षा । नेपालजस्तो देशमा कक्षा कोठाको पूर्णतः विकल्प अनलाइन क्लास न त कहिले भएको थियो न त हुने नै देखिन्छ ।

यसर्थ सावधानी अपनाएर विद्यालय खोल्न आलटाल गर्नु बालबालिकाको शिक्षाप्रति गैरजिम्मेवार बन्नु हो । बजारमा हुलका हुल मानिस आवातजावात गर्दा, पसल र सुपर मार्केटमा भिड लाग्दा कोरोनाको वास्ता नगर्ने हामीहरूले विद्यालयलाई मात्र महामारीको एकमात्र जोखिमको केन्द्र देख्नु गलत मानसिकताको उपज हो ।
शिक्षा क्षेत्रमा पर्न लागेको यो दूरगामी नकारात्मक असरले विद्यार्थीहरूको मात्रै भविष्य बिग्रँदैन, अपितु यसले सिंगो समाज र राष्ट्रको भविष्यलाई नै दीर्घकालसम्म अन्धकारतर्फ धकेल्न सक्छ । केवल कोरोना महामारीको अवस्था देखाएर शिक्षा क्षेत्रको यो भयानक र दर्दनाक स्थितिबाट अब उम्किन मिल्दैन । महामारीको प्रकोपको बहानामा समग्र राष्ट्रको शैक्षिक पद्धति र संरचनालाई ध्वस्त नबनाऔँ । स्वास्थ्यप्रति उच्च सावधानी अपनाउँदै बन्द विद्यालय खोल्न अब कत्ति पनि ढिला नगरौँ । निराश, कुण्ठित र मानसिक तनावमा परेका कलिला बालबालिकाहरुलाई नियमित शैक्षिक गतिविधिहरूबाट टाढा राखेर अझ बढी मानसकि तनावमा नपारौँ । उनीहरुको सिर्जनशीलतालाई नमारौँ । बौद्धिक र शारीरिक विकासलाई अवरोध नगरौँ । यथाशीघ्र विद्यालय सञ्चालन गरौँ र शैक्षिक गतिविधि अगाडि बढाऔँ । अस्तु ।
(लेखक रुपन्देहीका शैक्षिक अगुवा हुन्)

 

सम्बन्धित समाचार