हिन्दू राष्ट्रको एजेण्डाले १४औं महाधिवेशनमा निर्णायक भूमिका खेल्छ : पूर्वमन्त्री भण्डारी

नेपाली कांग्रेसमा यतिबेला १४औं महाधिवेशनको चहलपहल बढेको छ । महाधिवेशनमा आ–आफ्नो पक्षमा मत आकर्षित गर्न पार्टीका शीर्ष नेताहरू दौडधुपमा देखिन्छन् । पछिल्लो समय कांग्रेसमा अन्य पार्टीबाट नेताहरू प्रवेश गर्नेक्रम बढेको छ भने महाधिवेशनको पूर्व सन्ध्यामा आफ्नै पार्टीभित्रका नेताहरूमाथि कारवाही गरेको पनि देखिन्छ । सरकारको काम कारबाहीलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला प्रतिपक्षको भूमिका प्रभावकारी नभएको भन्ने टिकाटिप्पणीहरू पनि कम छैनन् । नेपाली कांग्रेसको आगमी १४औं महाधिवेशन र नेपाली कांग्रेसको तरूण विभागलगायतका विषयहरूमा रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व वनमन्त्री एवम् तरूण विभाग प्रमुख शंकर भण्डारीसँग नवकान्तिपुर संवाददाता महेश कठायतले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसको तरूण विभाग कार्यसमिति विस्तारको काम अहिले के भइरहेको छ ?



नेपाली कांग्रेस पार्टीको विधानत पार्टीमा विभिन्न विभागहरूको गठन गर्ने व्यवस्था गरिएको छ । विधानको व्यवस्था अनुसार विभागहरू गठन गर्न धेरै ढिला भयो । ६ महिना पहिले पार्टीका ४८ वटा विभागहरूमध्ये पार्टी सभापति (शेरबहादुर देउवा) ले २० वटा विभागको प्रमुख नियुक्ती गर्नुभयो । पार्टीको विधानअनुसार नै सभापतिले विभाग प्रमुख तोक्नु भएको हो । त्यसको केही दिनपछि संसारभरि फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न गयो र देशमा लकडाउन नै भयो । त्यसपछि मैले एकदिन पार्टी सभापतिहरूसँग सल्लाह गरेर यस्तो लकडाउनको बेला कोरोनाको प्रभाव अनिश्चित छ, विभागका कामहरू जेजति गर्न सकिन्छ गर्दै जानु पर्यो भन्ने कुरा गरेँ । त्यस विषयमा वहाँ (सभापति) पनि सकारात्मक देखिनु भयो । यो एकदम ठिक कुरा गर्नुभयो भन्नु भयो तर अहिले एक महिना हुन लाग्यो कार्यसमितिमा २४ जना छौं । विभागीय प्रमुख सहित ५१ सदस्यीय कार्यसमिति हुन्छ । त्यसमा हामीले विश्वास गरेका २४ जना साथीहरूको नाम सिफारिस गरेर सभापतिलाई पठाएपछि वहाँले त्यसलाई स्वीकृती गरी नियुक्ती गरिदिनु भयो ।

त्यसपछि अहिले अलिकति अरू विभागका प्रमुखहरूलाई पनि यसले घचघच्यायो र वहाँहरूले चासो देखाएर विभागलाई पूर्णता दिन लाग्नु भएको छ । पार्टीभित्र पनि यसले अहिले तरंग नै दिएजस्तो मैले अनुभूति गरेँ । सबैलाई चासोको विषय पनि बन्यो र यो खुसीको कुरा पनि हो, यद्यपि पार्टीभित्र बहसहरू छन्, विचारहरू छन्, केही नेता साथीहरूको यसमा विमती पनि छ । त्यो एउटा अर्को पाटो भयो । तर के छ भने विमती समूहगत स्वार्थको विमती हो, कुनै ठूलो वैधानिक विमती होइन । तैपनि अहिले जो जो सभापतिलाई साथ दिनुपर्छ भन्ने साथीहरू चाहिँ यसलाई पूर्णता दिन लाग्नु भएको छ ।

‘विभाग गठनप्रति कतिपय साथीहरू असन्तुष्ट’ भएको कुरा उठाउनु भयो नि, यसले गर्दा विभागको काम कारबाहीमा केही असहजता सिर्जना त हुँदैन नि ?

पार्टी स्थापना कालदेखि नै ऐतिहासिक अभिभारा नेपाली कांग्रेसले पूरा गर्दै आइरहेको छ । अहिले कांग्रेसले २०७४ को आम निर्वाचनामा राम्रोसँग जित हासिल गर्न सकेन, हामी पराजित हुँदै गर्दा पनि नेपालको राजनीतिमा अहिले देखिएका हरेक घटनाक्रमलाई अध्ययन गर्दा कांग्रेसको काँधमा अझै पनि राष्ट्रिय अभिभाराहरू छन् । त्यो अभिभारा पूरा गर्नलाई सबभन्दा पहिले पार्टीले आफूलाई आन्तरिक रूपमा संगठित गर्नुपर्छ, आन्तरिक सुधार गर्नुपर्ने विषय तत्काल सुधार गर्नुपर्छ । पार्टीलाई दु्रत गतिमा अझ बढी संगठित गर्दै स्पष्ट नीतिका साथ मुलुकका समस्या के हुन ? ती समस्या कसरी सिर्जत भए ? र ती समस्याहरूको समाधान कसरी हुन्छ ? भन्ने एउटा निष्कर्ष पार्टीले निकालेर त्यही ढङ्गले मुलुकलाई नेतृत्व दिने पार्टी निर्माण गर्नुपर्छ । त्यसको लागि पार्टीका तत्तत् मातहतका निकायहरू, पार्टीका भातृसंस्थालगायतका विभाग सबैलाई जति क्रियाशील बनायो पार्टीले त्यति सशक्तता प्राप्त गर्छ । त्यसकारण त्यो ढङ्गले काम गर्नको लागि अब जति ढिलो भयो भयो, ढिलो भयो अब नगरौ भन्नुभन्दा केही गरौं भन्नु राम्रो पक्ष भएकाले हामी त्यही ढङ्गले अगाडि बढेका छौं । संगठनमा केही साथीहरूमा असन्तुष्टि रहेता पनि सबैले पार्टीलाई नै बलियो बनाउनतर्फ नै लाग्नु पर्ने हुन्छ । तरूण विभागमार्फत् पार्टीलाई कसरी ऊर्जाशील बनाउन सकिन्छ भन्ने कुरामा मेरो र यो विभागको पनि भूमिका रहन्छ ।

तपाईले पार्टीलाई ऊर्जाशील बनाउने कुरा गर्नु भयो, तर स्थानीयस्तरदेखि नै तरूण युवाहरूलाई सक्रिय बनाउन चाहिँ तरूण विभागको कस्तो भूमिका रहन्छ ?

यो महत्वपूर्ण प्रश्न छ र देशको लागि पनि महत्वपूर्ण विषय हो । हाम्रो पार्टीमा विभिन्न भ्रातृ संस्थाहरू छन्, त्यसमध्ये तरूण दल पनि एक हो । अहिलेसम्म हामीले पोखरामा चौथो महाधिवेशन सम्मन्न गरेका थियौं । त्यो केही नेताहरूको सहमतिमा जुन प्रक्रियाबाट अधिवेशन सम्पन्न हुन्थ्यो, त्यो प्रक्रियालाई तोडेर सहमतिको आधारमा जम्मा चार जना साथीहरूलाई हामीले तरूणदलको नेतृत्वमा ल्यायौं । पछिल्लो समयमा महासचिवको बारेमा विवाद भएर कारबाही गरेको अवस्था छ । जम्मा तीन जना तरूण दलका पदाधिकारी हुनुहुन्छ, कार्यसमिति छैन । तीन वर्षीय कार्यकाल समाप्त भएर ६ महिना थपेर ६ महिना पनि समाप्त भएर अस्ती फेरि केन्द्रीय समितिले पछि अनुमोदन गर्ने गरी भनेर ६ महिना थप गरेको छ ।

यसरी तरूण दलले पनि परिणाम दिन सकेन । यद्यपि जिल्ला जिल्लामा केही तरूण दलको जिल्ला संगठन बनेको अवस्था छ र कतिपय जिल्ला संगठनले अहिलेको यो कोरोना महामारीको समयमा धेरै राहत वितरणलगायतका प्रशंसनीय काम गरेको अवस्था पनि छ । त्यो एउटा सन्तोषको विषय पनि छ । त्यसकारण तरूण दललाई विधानतः पूर्णता दिनुपर्ने पहिलो अभिभारा छ, त्यो आवश्यकता पनि हो । त्यसमा पनि अहिले गाउँगाउँमा रहेका तरूणहरू तरूणको विधानअनुसार तरूण दलको आधिकारीक संगठनभित्र जोडिन नसकेका पनि युवाहरू छन् । अब ऊर्जाशील युवाहरू जसको मेहनेत, श्रम र पसिनाले हामीले देशको छिटो विकास गर्न सक्छौं, तिनीहरूलाई कांग्रेसको नीति सिद्धान्तभित्र संगठित गरेर तरूणदलको ऊर्जाशील सक्रियता बढाउन आवश्यक पनि छ । त्यो हामीले महसुस गरेका छौं ।

तर आवश्यकता परिपूर्ति गर्न अहिलेको सबैभन्दा ठूलो समस्या रोजगारको छ । आज कृषि क्षेत्रको विकास गर्नलाई हामीले राष्ट्रिय नीति नै निर्माण गर्नुपर्ने छ । हामीले कृषि प्रधान देश भनेका छौं तर कसरी कृषि प्रधानदेशको रूपमा स्थापित गछौं भन्ने कुरामा हामीले नीति अहिलेसम्म निर्माण गर्न सकेको छैनौं । अब कृषिमा पनि विभिन्न कार्यक्रम बनाउँदै युवाहरूलाई जोड्ने हो । स्वरोजगारमूलक कृषि व्यवसायमा, पर्यटनमा र साना लघु घरेलु उद्योगमा युवाहरूलाई गाउँदेखि नै आबद्ध गर्दै जान सकियो भने विदेशीने युवा पनि स्वदेशमा क्रियाशील हुन्छन्, जसले गर्दा देश विकासमा टेवा पुग्छ भन्ने हाम्रो निष्कर्ष छ । अहिले हामी सत्तामा नभए पनि राष्ट्रिय नीतिहरू बनाउँछौं र भोलि हामी सत्तामा आउँदा त्यसलाई कार्यन्वयन गर्छौं । अहिले सत्तामा नहुँदा पनि सत्तारूढ दल र सरकारलाई हामी सुझाव दिन सक्छौं । अहिले हामीले त्यस ढङ्गले काम गर्ने लक्ष्य बनाएका छौं ।

अहिले नेपाली कांग्रेसका चार दर्जनजति विभागहरू छन् । पार्टीलाई बलियो बनाउनका लागि अन्य विभागहरूभन्दा तरुण विभागले बढी प्रभावकारी भूमिका खेल्न सक्ला ?

पार्टीलाई बलियो बनाउन कुन विभागले बढी परिणाममूखी ढङगले भूमिका खेल्न सक्ला भन्ने कुराको विशेष अर्थ होला, मूल्याङ्कन पनि होला र त्यो स्वाभाविक पनि हुन्छ । सबै विभागहरूबीचको अन्तरसम्बन्धलाई विकास र आपसमा छलफल गर्दै आ–आफ्नो विभागको परिभाषा र सिद्धान्तभित्र रहेर आपसी सहकार्यका साथ अगाडि बढ्ने विषय नै प्रधान विषय हो र त्यसैगरी हामी अगाडि बड्छौं । युवा शक्ति परिर्वतनका संवाहक पनि हुन् । त्यसैले तरूण विभागको काँधमा ठूलो अभिभारा छ । त्यसैले प्राप्त समयलाई सदुपयोग गर्दै काम गर्न सकिन्छ भन्ने कुरामा गम्भीर हुँदै हामी तयारीमा छौं ।

कांग्रेसमा अहिले एकतिर पार्टीका नेताहरूमाथि कारबाही भइरहको छ भने अर्कोतिर अन्य पार्टीबाट कांग्रेसमा प्रवेश पनि भइरहेको छ, यसलाई तपाई कसरी हेर्नु हुन्छ ?

अहिले पार्टीमा अनुशासनको कुरा धेरै ठूलो समस्याका रूपमा छ । नेतादेखि कार्यकर्ताहरू अनुशासित हुन सकेका छैनन् । जुन व्यक्ति अनुशासनमा बस्दैन, त्यो व्यक्ति आफंै पनि सफल हुन सक्दैन । यो अकाट्य सत्य कुरा हो । तथापि हाम्रो पार्टीमा अनुशासनहीनताको प्रवृति पछिल्लो समय निकै नै बढ्न थालेको छ । त्यो समस्याकै रूपमा देखिएको छ । पार्टीलाई अनुशासित बनाइने भने त्यो पार्टीको औचित्य नै समाप्त हुन सक्छ, त्यो गम्भीर विषय हो । तसर्थ पार्टीको अनुशासनको दायरामा आउनु पर्ने केही व्यक्तिको मात्रै कुरा भएन, जो जुकै व्यक्ति होस्, जुन सुकै तहका व्यक्ति किन नहोस् ती व्यक्तिहरू अनुशासनको दायरामा धेरै पहिले आउनुपथ्र्यो त्यो ढिलो भएको हो ।

संगठन किन चाहिन्छ त ? हामी लोकतान्त्रीक पार्टी हौं । बहुदलीय शासन व्यवस्थाको पक्षधर भएको पार्टी भएकोले बहुदलीय व्यवस्थामा अध्यावधि निर्वाचन हुन्छ । अध्यावधि निर्वाचनमा जनताको माझमा जान्छौं र जनताले हाम्रा पार्टीका प्रतिनिधिहरू छान्छन् । निर्वाचनमा एक भोट बढी भए जित्छ र एक भोट कम भए पराजित हुन्छ । त्यसकारण निर्वाचनका मतलाई मध्यनजर राखेर कुनै व्यक्तिले गलत गरेमा व्यक्तिहरूलाई कारबाहीभन्दा गल्तीलाई सुधार गर्न लगाएर पार्टीमा नयाँ ढङ्गले क्रियाशील बनाउन आवश्यक छ । तर पछिल्लो कुरा जसले जे गरे नि हुन्छ, पटकपटक गल्ती गरे नि हुन्छ, पार्टीलाई हराए पनि हुन्छ र जे गरे पनि नेता नै भइन्छ भने सोच चाहिँ गलत हो र यो अत्यन्तै संम्वेदनशील विषय पनि हो ।

अब अर्को पार्टी प्रवेशको कुरा छ, त्यो त राम्रो कुरा हो । नीतिगत रूपमै अहिले हामी कांग्रेसले जसरी २०६२–६३ पछि कम्युनिष्टहरूको सहकार्यमा अगाडि बढेका छौं र जेजे कुराहरूलाई अहिले नेपालको राजनीतिमा मूल उपलब्धिको रूपमा बहस गरेका छौं; हामीले त्यसमा गौरव पनि गरेका छौं । तर केही विचारहरू कांग्रेस पार्टीको स्थापनाकाल देखिकै विचारहरूसँग मिल्दाजुल्दा छैनन् भन्ने मेरो दृष्टिकोण छ । पार्टी प्रवेश गर्ने साथीहरूले पनि अब त्यो कुरामा बढी ख्याल गर्दिनु भयो भने पार्टीलाई भोलिको दिनमा संगठित गर्न बल पुग्छ भन्ने मेरो धारणा छ । यो छलफलको विषय पनि हो । कोही नेता साथीहरू वा समूहहरू नेपाली कांग्रेसमा प्रवेश गर्नु भनेको आफंैमा राम्रो र सुखद् पक्ष हो ।

यति बेला कांग्रेसमा १४औं महाधिवेशनको चहलपलह बढेको छ, तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना कति देख्नुहुन्छ ?

केन्द्रीय कार्यसमितिको चार वर्षीय कार्यकाल हो, हुन त महाधिवेशन ढिला नै भयो । अन्य विशेष परिस्थितिमा एक वर्ष थप्ने परम्परा हो र त्यो परम्परामा अहिले पनि हामी गइसक्यौं । यो कार्यसमितिले पनि एक वर्ष थपिसक्यो र अब थपिएको समायावधि फागुनमै समाप्त हुन्छ । त्यसकारण फागुनको पहिलो हप्ताबाटै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय छ र त्यहीअनुसार कार्यतालिका बनाएर अगाडि बढेका छौं । यसैबीचमा कोरोना महामारीको प्रभाव पनि देखिएको छ ।  त्यसले हाम्रो केन्द्रीय महाधिवेशनलाई प्रभाव पार्ने सम्भावना देखिएको छ । अब त्यो प्राकृतिक प्रकोपको कुरा भयो ।

अर्को अहिले कम्युनिष्ट पार्टीले भारी मत चुनाव जित्दै गर्दा करिब दुई वर्ष ६ महिना सरकार सञ्चालनको समयावधिलाई हेर्दा इतिहासमा यति धेरै भ्रष्टाचार र असुरक्षा बढेको देखिन्छ । एकातिर हामीले मुलुक शान्ति प्रक्रिया अगाडि बढ्यो भनेका छौं । अहिले दैनिक एकले अर्कालाई काटेर हिड्ने, मान्छे मार्ने, अपाङ्ग बनाउने काम त भएको छैन तर पनि मनमनमा हरेक नागरिक आतंकित छन् । सरकारले शान्ति सुरक्षाको कुनै पहल गरेन, विकास समृद्धिका आधारहरू कृषि, पर्यटन, जलस्रोतमा कुनै ठोस कार्यनीति कार्ययोजना सरकारले ल्याउन सकेन र मुलुकको अर्थतन्त्र पनि अत्यन्तै धरासायी बन्दै गइसक्यो । करको दायरा बढाउँदै त्यही जनताबाट उठाएको करले देश चलाउन सकिन्छ भन्ने अवस्थामा सरकार पुगेको देखिन्छ । बाह्य सम्बन्ध बिग्रेको छ । त्यसकारण यस्तो अवस्थामा कम्युनिष्ट पार्टीबाट देश चल्न नसक्ने एउटा निष्कर्ष हो । अहिले त्यसलाई पनि मध्यनजर राखेर कांग्रेसले आफूलाई अगाडि बढाउनु पर्ने दायित्व आएको छ । त्यसको परिपूर्तिका लागि यो महाधिवेशन आउनु महत्वपूर्ण हुन्छ । त्यसकारण कम्युनिष्टहरूको अहिलेको अस्तव्यस्त, गैरजिम्मेवार, गैरराष्ट्रवाद, गैरनागरिक भूमिकाले मुलुकको राजनीति नै संकटमा जाने हो कि भन्ने एउटा चिन्ता छ र त्यो संकटले हाम्रो अधिवेशनलाई प्रभाव पार्ने हो कि भन्ने पनि मेरो आशंका छ । तथापि पार्टीका सबै केन्द्रीय कार्यसमिति, मातहतका सबै निकाय र आम पार्टीका नेतासाथीहरू १४औं महाधिवेशनको तयारीमा लाग्नु भएको छ, लाग्नु पर्छ । अब हामीले पार्टीका चुनौति र मुलुकका चुनौति सामना गर्ने ढङगले पार्टीले १४औं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण छ ।

१४औं महाधिवेशनमा हिन्दू राष्ट्रको एजेण्डाले पनि ठाउँ पाउँला ?

१४औं महाधिवेशनबाट पार्टीको नेतृत्व चयन गर्ने कुरामा यही हिन्दु राष्ट्रको एजेण्डाले निर्णायक भूमिका खेल्छ ।

त्यसो भए यसमा तपाई विश्वस्त हुनुहुन्छ ?
यसमा म विश्वस्त छु र यो अनिवार्य विषय पनि हो भन्ने मेरो अडान छ ।

तर यो विषयमा नेताहरूबीच मत भिन्नता छ नि !
यो एजेण्डमा कसले समर्थन गर्छ, कसले विरोध गर्छ थाहा छैन । १४औं महाधिवशेनमा देशभरबाट प्रतिनिधि साथीहरू आउनु हुन्छ । यो वहाँहरूले निर्णय गर्ने कुरा हो । जसले यो कुरालाई आत्मसात् गर्नु हुन्छ ती साथीहरू नै नेतृत्वमा आउनु हुन्छ । जो नेतृत्वमा आउँछ त्यही नेता हुन्छ ।

संविधानमा धर्मनिरपेक्षता लेखिसकेपछि अहिले कांग्रेसमा फेरि हिन्दू राष्ट्रको एजेण्डा किन उठाइरहेछ ?

हिन्दू राष्ट्रको एजेण्डा अन्त्यत महत्वपूर्ण विषय हो । यो कुनै रहरले अथवा उत्तेजनामा आएर यो विषय उठान गरेको होइन र अन्य धर्मको विरूद्धको विचार पनि होइन । संसारका हरेक मुलुकका आ–आफ्नै पहिचान छन् र धार्मिक पहिचान पनि छन् । हामी सबैलाई थाहा छ, आज संसारमा कयांै इस्लामिक मुलुकहरू छन् र कयांै इसाइ मुलुकहरू छन् । नेपालको राजनीतिमा ००७ सालको परिर्वतनको नेतृत्व गर्ने विशेष गरी नेपाली कांग्रेस पार्टी २००३ सालमा स्थापना भएपछि दलहरूको गठन, दलहरूको निर्माण, दलहरूको स्थापना तथा दलहरूको भूमिका राजनीतिमा देखिएको हो । नेपालको एकीकरणको अभियानभन्दा पहिलेदेखि नै जतिवटा स–साना राज्यहरू थिए, ती सम्पूर्ण राज्यभित्र र अहिलेको सिङ्गो नेपालभित्र अन्य धर्मका जस्तै हिन्दू धर्मका विशेष विशेषताहरू, पहिचानहरू र आधारहरू छन् ।
त्यसकारण संसारका अन्य मुलुक इस्लाम, इसाई भए जस्तै संसारको एक मात्रै हिन्दू सनातन मुलुक चाहिँँ नेपाल हो । यसले संसारभर नेपालको पहिचान निर्माणको काम मात्रै गरेको छैन, यसले नेपालको समुद्धिको आधार पनि दिइएको छ । त्यसकारण देशको पहिचान र देश विकासको आधारहरू मेटाएर देश अगाडि बढ्न सक्दैन । सनातन हिन्दूत्वलाई समाप्त पार्न जसरी सदियांै पहिलेदेखि विशेष गरी इसाइ समुदायका इसाइ धर्मका अगुवाहरूले नेपालमा चलखेल गर्न क्रियाशील भए, जुन कुरा तथ्यले पनि धेरै पुष्टि गरेको छ । पछिल्लो समयमा नेपालको राजनीतिमा कहीं न कहीं धर्मलाई पनि जोडेर अथवा नेपालको हिन्दूत्वलाई कमजोर पार्ने किसिमले राजनीति पनि अघि बढेको देखिन्छ । अहिले हामीले संविधानमा धर्म निरपेक्षताको प्रबन्ध गर्नु र धर्म निरपेक्षतालाई नेपालका नेताहरूले ठूलो उपलब्धि भन्दै हिड्नुको यसको मुख्य कारण हो ।

हिन्दू राष्ट्रको एजेण्डा उठाइरहँदा तपाईहरूलाई परिवर्तन विरोधी ट्याग त लाग्छ नि !
हामी परिर्र्वतन विरोधी होइनौं, हामी राष्ट्रका संरक्षक, राष्ट्रवादी र राष्ट्रपे्रमी हौं ।

यसलाई मुस्लिमहरू र इसाइहरूले पनि समर्थन गर्लान त !

अधिकांश मुस्लिमले समर्थन गर्छन । हाम्रो पार्टीको केही महिना अघिको महासमिति बैठकमा अधिकांश मुस्लिम समुदायका प्रतिनिधिहरूले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर हस्ताक्षर गर्नु भएको छ । कुनै करकापमा होइन स्वतः स्फुर्त रूपमा मुस्लिम समुदायका मान्छेले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर हस्ताक्षर गर्नु भएको छ । त्यो सँगै अरू कुराहरूले पनि त्यो कुरा पुष्टि गरेको छ । यो देश जोगाउने हो भने देशको पहिचान, पहिचानका आधारहरू, देशको परम्परा, देशको संस्कृति र देशको रीतिरिवाजलाई जोगाउनु पर्छ ।

अन्त्यमाः
नेपालको हरेका परिर्वतनमा नेपाली सञ्चार जगत्को धेरै ठूलो योगदान छ, सम्मानित भूमिका छ । हामी सम्मान पनि गर्छौं र गर्नु पनि पर्छ । तर कतिपय सञ्चारमाध्यमका समाचारहरू सत्य तथ्यमा आधारित नभई कतै आग्रह पूर्वाग्रहबाट प्रेरित देखिन्छन् । कतै व्यक्तिवादी चिन्तनमा सञ्चारमाध्यमहरूले बढी समय खर्चेको देखिन्छ । राजनीति गर्नेले देशमा कस्तो भूमिका खेल्नु पर्छ ? कस्तो काम गर्नुपर्छ ? भन्ने कुराको वस्तुगत विश्लेषण नै देख्दिनँ । आफ्नो इच्छाअनुसार जबरजस्त ढङ्गले कुनै व्यक्तिको पछि लागेको देख्छु, यो त गलत हो । यस्तो किसिमले जाँदा पत्रकारिताको पनि मर्यादा घट्दै जान्छ र पत्रकारिताले मुलुकको सुधारको लागि जुन किसिमले योगदान दिँदै आएको थियो त्यो हैसियत पत्रकारिताले गुमाउँछ कि भन्ने चिन्ता छ । त्यसमा सजग भइदिन म आम सञ्चारमाध्यमलाई आग्रह गर्दछु ।

हाम्रा पुर्खाहरूले नेपाललाई नेपालका रूपमा चिनाउन विगतमा जुन भूमिका खेलेका थिए, त्यसको मूल्य र गरिमालाई जोगाएर राख्नु हाम्रो कर्तव्य हो । अहिले नेपालमाथि भएका बाह्य चलखेललाई निस्तेज पार्नलाई आवेशमा आएर अमर्यादित टिकाटिप्पणी गर्नु राम्रो होइन । सच्चा दिलले, सच्चा मनले, सच्चा अठोट तथा सफल कूटनीतिक चालले देशमाथि भएका बाह्य चलखेललाई क्रमशः निस्तेज पार्दै जानुपर्छ । नेपाललाई प्रकृतिले अथाह प्राकृतिक सम्पदा दिएको छ, त्यही चिजलाई उपयोग गरेर देश विकास गर्न सकिन्छ; हाम्रो श्रम र पसिनाको उचित प्रयोगले देश बनाउन सकिन्छ । देशको भूगोलको रक्षा र विकासका लागि हामी सबै एक भएर लाग्न सक्नुपर्छ । यस्ता गम्भीर र संवेदनशील कुरामा सबैको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु ।

सम्बन्धित समाचार