काठमाडौंलाई कोरोनाको हटस्पट बन्न नदिन के गर्ने ?

गत वर्ष डिसेम्बरको अन्त्यतिर पहिलो पटक चीनको बुहानबाट जनावरबाट फैलिएर मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड १९) ले ७ महिनामा नै विश्वमा त्राही त्राही मच्चाएको छ र अहिलेको विश्वको लागि सबभन्दा ठूलो खतरा र चुनौतीको रूपमा देखा परेको छ । विश्व स्वास्थ्य संगठनले विश्व महामारीका रूपमा कोरोनालाई चित्रित गरेको पनि अब निकै समय भइसकेको छ । यो भाइरसका कारण विश्वभर करिब ७ लाख मानिसले ज्यान गुमाइसकेका छन् भने करोडौंको संख्यामा संक्रमित भएका छन् ।

नेपाल पनि कोरोना संक्रमणबाट अछुतो रहने कुरै भएन । अर्को कुरा चीनसँग त हाम्रो सीमा पनि जोडिएको छ । नेपालमा जनवरीमा नै कोरोनाभाइरसका पहिलो संक्रमित भेटिएका थिए । चीनबाट फर्किएका ती युवा ठीक भए । विस्तारै जब नेपालमा कोरोनाभाइरस संक्रमित बढ्न थाले, सरकारले ११ चैतबाट लकडाउन लगायो । सो लकडाउन साउन ६ गते रातिदेखि सरकारले हटाएको छ । लकडाउन हटेसँगै काठमाडौं लगायत देशका विभिन्न भागमा मानिसहरूको आवागमन बढेको छ जसको कारण कोरोना भाइरसबाट संक्रमितको संख्या पनि बढेको छ ।



पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाभाइरस संक्रमण फैलिएको भन्दै देशका विभिन्न ठाउँमा लकडाउन र सिल गर्ने कार्य जारी छ । यता, काठमाडौंमा पनि अब दिनहुँ कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलनमा लकडाउनको ११ दिनअघि र पछिको तुलना गर्दा नेपालमा शून्य दशमलव ८ प्रतिशतले संक्रमित बढेको बताएको छ । काठमाडौं उपत्यकामा चाहिँ चार दिन यतामात्र १ सय ८४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यहीबीच आइतबारमात्र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चेतावनी दिएका छन्– काठमाडौंमा कुनै समय भयावह स्थिति आउन सक्छ ।

अहिले काठमाडौंमा कोरोनाभाइरसको संक्रमणको खतरा कति हो भन्ने बारेमा शुक्रराज ट्रपकिल तथा सरूवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुन भन्दछन्, ‘हामीले सावधानी अपनाउन सकेनौँ भने स्थिति एकदमै भयावह हुनसक्छ ।’  ‘लकडाउन अन्त्य भएपछि पछिल्ला दिनहरूमा झन् झन् समस्या देखिएको छ,’ उनले भने, ‘यसले काठमाडौंजस्ता सहरहरूलाई अझ बढी प्रभावित गर्ने सम्भावना बढेको छ ।’

यो खतरा बढ्नुको एउटा कारण हामी नेपालीहरूले आफ्नो ट्राभल हिस्ट्री नराख्नु तथा पछिल्लो समय काठमाडौंमा विभिन्न जिल्लाबाट मानिसहरू प्रवेश गर्नु हो । काठमाडौं उपत्यकामा कोरोनाभाइरसले महामारी लिनसक्ने सम्भावना बढेको भन्दै उनले यस्तो भएको खण्डमा यसलाई व्यवस्थापन गर्न र नियन्त्रणमा लिन निकै चुनौतिपूर्ण हुने बताए ।

काठमाडौं उपत्यकामा कोरोना बढ्नु र यहाँ स्थिति भयावह हुनसक्ने तीनवटा कारणहरू यी हुन सक्छन् ।

पहिलो, उपत्यकाको जनघनत्व निकै बढी छ । जनघनत्व बढी हुनु भनेको कोरोनाभाइरस छिटो फैलिनसक्ने सम्भावना हुनु हो । दोस्रो, काठमाडौंका विभिन्न अस्पतालमा निकै धेरै दीर्घरोगीको उपचार भइरहेको छ । दीर्घरोगीलाई बढी असर गर्ने कोरोनाभाइरसका कारण त्यसैले पनि काठमाडौंमा थप समस्या देखिने हुन्छ । यस्तो अवस्थामा यहाँ संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नै समस्या हुन जान्छ । अर्को कारण हो काठमाडौंमा कोरोना प्रभावित क्षत्रबाट खुला रुपमा मानिसहरुको आवागमन । काठमाडौं बाहिरबाट आएका मानिसहरुको पिसिआर टेस्ट गर्नुपर्दछ र पिसिआरको परिणाम नआउँदा सम्म उनीहरुलाई क्वारिन्टाइनमा राख्नुपर्दछ । परिणाम नेगेटिभ आएपछि मात्र समूहमा जान दिनुपर्दछ ।

समयमा सावधानी नअपनाए काठमाडौं कोरोनाभाइरसको नयाँ हटस्पट हुनसक्छ । कोरोनाको निर्णायक लडाइँ काठमाडौंमा हुनसक्छ । अनि यो खतराबाट बच्न नागरिक नै सबैभन्दा बढी जिम्मेवार हुनु पर्ने हुन्छ । तर, हामी सिरियस भएको छैनौं । अहिले केही मानिसहरू यस्ता छन् जो एक्लै हिँड्दा मास्क लगाउँछन् तर अरू मानिसहरूसँग भेटेपछि मास्क खोलेर मज्जाले कुराकानी गरिरहेका हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले सुझाएका गाइडलाइन्स अक्षरशः पालना नगरे हामीलाई थप समस्या हुनसक्छ । कोरोना संक्रमणलाई न्यूनीकरण सामाजिक दूरी कायम गर्ने, हात धुने, मास्क लगाउने भन्ने विश्व स्वास्थ्य संगठनका गाइडलाइन्स पालना गर्नुपर्छ ।

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै इनफ इज इनफका अभियन्ताहरूले दोश्रो चरणको सत्याग्रह गरेका थिए । हाल सत्याग्रह बसेका ईलाई अस्पताल भर्ना गरिएको छ । उनीहरूले शतप्रतिशत पिसिआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, कोरोना व्यवस्थापनमा गरेको खर्चको विवरण सरकारले पारदर्शी बनाउनुपर्ने लगायतका माग राख्दै ई विगत १६ दिनदेखि वसन्तपुर दरबार स्क्वायरमा सत्याग्रहमा बसिरहेका छन् ।

काठमाडौंलाई कोरोना संक्रमणको हटस्पट बन्नबाट बचाउन के गर्ने ?

काठमाडौं उपत्यकालाई बचाउनका लागि कोरोनाको हटस्पट मानिएका ठाउँबाट आउने मानिसलाई रोक्नु नै मुख्य विकल्प हो । त्यसका अलावा काठमाडौं प्रवेश गर्नेहरूको नाकामा नै स्वाब लिएर क्वारेन्टिनमा व्यवस्थापन गर्नुपर्दछ । नागरिकले सहयोग गरेनन् भने अवस्था सोचेभन्दा गम्भीर हुन सक्छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी भने समयमै विज्ञहरूलाई नसुन्दा पनि यो अवस्था आएको बताउँछन् । मन्त्रालयकै अधिकारीले नेपालमा कोरोनाले महामारीको रूप लिँदैन भन्ने मानसिकता बनाएको भन्दै उनले भने, ‘हाम्रै केही प्रमुख र जिम्मेवार व्यक्तिहरूले काठमाडौं छिर्ने मानिसको परीक्षण गर्नु पर्दैन भनेर अडान लिएका थिए ।’
एउटा व्यक्तिलाई गाउँमै संक्रमण भएको रहेछ भने उसले सँगै यात्रा गरेका मानिसलाई मात्र होइन, घर तथा छरछिमेकमा भएकाहरूलाई पनि सार्न सक्छ । मानिसको शरीरमा भाइरस प्रवेश गर्नासाथ संक्रमण नदेखिने भएकाले नाकाबाट छिरेका कोही पनि मानिस अहिले नै ढुक्क हुने अवस्था छैन ।

स्वास्थ्य मन्त्रालयका अर्का अधिकारी कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर मन्त्रालयले देशभर कडाइ गर्न गृह मन्त्रालयलाई परिपत्र गर्ने तयारी गरेको बताउँछन् । उनका अनुसार मन्त्रालयको आन्तरिक छलफलले देशभर थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘अब फेरि लकडाउनमा फर्कन सकिन्न’ उनी भन्छन्, ‘तर हटस्पटहरूमा थप कडाइ हुनसक्छ । काठमाडौंमा अतिआवश्यक कामबाहेक छिर्न नदिने हो कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’ हिंजो भएको विज्ञहरूसँगको छलफलमा विज्ञहरूले कम्तिमा २ हप्ता लकडाउन र आवश्यक परे कफ्र्यु लगाउनुपर्ने भनेरे प्रधानमन्त्रीलाई सिफारिस गरेका छन् भने प्रधानमन्त्री पनि लकडाउन गर्ने बारे सकारात्मक भएको बताइएको छ ।

अहिलेको अवस्थामा विराटनगर, जनकपुर, वीरगंजलगायतका कोरोना अति प्रभावित क्षेत्रमा स्थानीय तहले कफ्र्यु तथा लकडाउन गर्ने गरेका छन् । कोरोनाको संक्रमण रोक्नलाई यसको चेनलाई तोड्नुपर्दछ र त्यसको लागि प्रभावकारी कदम भनेको सोसियल डिस्टेन्सिङ नै हो । अहिले लकडाउन खुलेको अवस्थामा सोसल डिस्टेन्सिङलाई मेन्टेन गर्न अलि गाह्रो भएको छ । त्यसकारण केही समयको लागि लकडाउन गर्ने, पिसिआर टेस्ट व्यापक गर्ने, नाकाहरूमा आवातजावतलाई नियन्त्रण गर्ने, काठमाडौं प्रवेश गर्ने व्यक्तिहरूको पिसिआर गर्ने र संक्रमितलाई क्वारिन्टाइनमा पठाउने, पिसिआरको परिणाम नआउँदासम्म मानिसहरूसँग घुलमिल हुन नदिने, मास्क लगाउने, स्यानिटाइजरले हात सफा गर्ने आदि कार्य गर्नुपर्दछ । अनि मात्र कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सकिन्छ ।

सम्बन्धित समाचार