राजु लामिछाने
काठमाडौं, २७ साउन ।
गत असार १० गतेबाट जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि नेकपा विवादमा रुमलिएको छ । यसबीचमा विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दर्जनभन्दा बढी पटक वार्तामा बसे । वार्ताको क्रममा विभिन्न विकल्पमा छलफल भए पनि विवादको समाधान निकाल्न सकेनन् । पछिल्लो समय त अध्यक्षद्वयबीचको मनमुटाव वार्तमा बस्नै नसक्नेगरी चुलिएको छ । अध्यक्षद्वय नै वार्ताबाट तर्किंदा जारी विवादको अन्त्य फुटमा परिणत हुन्छ कि भन्नेमा नेकपा नेता तथा कार्यकर्ता सशंकित देखिएका छन् ।
पछिल्ला हरेक वार्तामा प्रचण्डले राजीनामा माग्ने र ओली राजीनामाको लागि तयार नहुने भैरह्यो । जारी विवाद ओली सचिवालयमार्फत् हल गरौं भन्ने र प्रचण्ड स्थायी कमिटीबाटै हल गरौं भन्ने, दुबै अध्यक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि नेकपा विवादले समाधान पहिल्याउन सकेको छैन । प्रचण्डले पार्टी विधि र पद्दतिअनुसार सञ्चालन गर्न नसकेकोले ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् भने ओलीले जारी विवाद पदमा केन्द्रित रहेको आरोप लगाउँदै आएका छन् । अध्यक्ष पदबाट राजीनमा चाहेको भए महाधिवेशनसम्म कुर्न र आफैं प्रधानमन्त्री बन्न चाहेको भए आगामी निर्वाचनसम्म कुर्न ओलीले प्रचण्डलाई आग्रह गरेका छन् । तर प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह त्यसको लागि तयार छैन ।
पार्टी कमिटीहरूमा बहुमतमा रहेका प्रचण्ड नेपाल समूह पार्टी विधान अनुसार अगाडि बढ्ने बताउँदै आएका छन् । नेकपाको विधान अनुसार बहुमतको निर्णय नै पार्टी निर्णय हुने उल्लेख छ । सोही विधानमा टेकेर प्रचण्ड नेपाल समूह ओलीलाई सरकारबाट फिर्ता बोलाउन सकिने भन्दै त्यसको तयारीमा जुटेका छन् । यता ओली पक्ष भने महाधिवेशनसम्म पार्टीका हरेक निर्णय सहमतिमा गरिने भन्ने विषय विधानमै उल्लेख भएकोले बहुमत र अल्पमतको कुनै अर्थ नहुने बताउँदै आएको छ । दुबै समूह आ–आफ्नो अडानमा रहेकोले एकताले पूर्णता नपाउँदै नेकपा फुट्ने सम्भावना बलियो देखिएको छ ।
पूर्व एमाले र पूर्व माओवादीबीचको चुनावी गठबन्धनले जनतामाँझ विभिन्न आश्वासन दियो, तीमध्ये जनताले रुचाएको एउटा आश्वासन थियो– पार्टी एकता गर्ने र स्थायी सरकार दिने । नेपालको विकास हुन नुक्नुमा राजनीतिक अस्थरताले काम गरेको भन्दै स्थायी सरकारको लागि भन्दै उनीहरूले मत मागे । जनताले झण्डै २ तिहाई मत दिए । दुई पार्टीबीच एकता भयो । ६ वटा प्रदेशहरूमा नेकपाकै बलियो प्रदेश सरकार बन्यो । केन्द्रमा २ तिहाईको समर्थनसहित ओलीले सरकारको नेतृत्व गरे । राष्ट्रका हरेक निकाय नेकपामय भए ।
ओलीले इतिहासमै कसैले नपाएको देश परिवर्तन गर्ने अवसर पाएका थिए । सरकारमार्फत देश र जनताका जनजीविकासम्बन्धी र राष्ट्रियतासम्बन्धी धेरै राम्रा काम हुने जनताको अपेक्षा थियो । तर ओली यी काममा सफल भएनन् । पार्टी र सरकारका काम कारहवाहीमा पार्टीभित्र या बाहिर कतै पनि समन्वयन गर्न ओलीले उचित ठानेनन् अन्ततः २ तिहाई समर्थनका साथ प्रधानमन्त्रीको सपथ खाएका ओली आफ्नै पार्टीभित्रका सहयात्रीको पनि समर्थन जोगाउन सकेनन् । यतिबेला उनी सरकार जोगाउनकै लागि आफ्नै नेताहरुसँग बिन्ति गर्नुपर्ने अवस्थामा आए । जनताले मात्र होइन, नेकपाकै कार्यकर्ताले पनि ओलीबाट अब कुनै चमत्कारको अपेक्षा गरेका छैनन् । जनताको एउटै अपेक्षा छ, नेपालको राजनीति फेरि अस्थिरतातिर नजाओस् । नेकपाका कार्यकर्ताको एउटै अपेक्षा छ, पार्टी नफुटोस् ।
समाधान के त?
नेकपाको जारी विवादको समाधान नेतृत्वको हिसाबले अध्यक्षद्वयमै केन्द्रित हुनेछ । विावद समाधानको लागि ओली र प्रचण्ड नै तयार हुनुपर्छ । त्यसो त नेकपाका केही संसदहरुले विवाद समाधानको लागि भन्दै विभिन्न अभियान चलाइरहेका छन् । दोस्रो तहका नेताहरूले पनि दौडधुप जारी राखेका छन् । तर अध्यक्षद्वय नै वार्तामा बस्न अनिच्छुक देखिएकोले विवाद जहाँको त्यहीँ छ । नेकपाको विवाद समाधानको लागि तीन विकल्प सतहमा छन् ।
१, राजीनामा
नेकपा विवादको सुरुवात नै प्रधानमन्त्री ओलीको राजीनामाबाट भएको थियो । ओलीले राजीनामा दिएमा जारी विवाद हल हुने देखिन्छ । विवाद लम्बिदै जाँदा ओलीइत्तरका शक्तिहरू कुनै एक पदबाट ओलीले राजीनामा दिएपनि विवाद समाधान हुने बताउँदै आएका छन् । त्यसैले ओलीले कुनै एक पदबाट राजीनामा दिएर जारी विवाद समाधान गर्दा उनको कद थप उचो हुने देखिन्छ । यता प्रचण्डले दुबै अध्यक्षले राजीनामा दिने प्रस्ताव गरेकोले यसबारे ओली आफूनिकटसँग परामर्शमा छन् । जारी विवादको समाधान दुबै अध्यक्षको राजीनामा पनि हुन सक्छ ।
२ प्रचण्डबाट आत्मासमर्ण
नेकपाको जारी विवाद समाधानको अर्को विकल्प हो प्रचण्डको आत्मासमपर्ण । प्रचण्डले ओलीले भनेझै अध्यक्षबाट हटाउन महाधिवेशन र प्रधानमन्त्री बन्न आगामी निर्वाचनसम्म धैर्य गर्न सकेमा जारी विवाद समाधान नै नभए पनि पार्टी फुटबाट भने जोगिने देखिन्छ ।
३, फुट
नेकपाको विवाद समाधानको अलोकप्रिय उपाय भनेको फुट हो । विवादै विवादकाबीच एउटै पार्टीमा रहेर अकर्मन्यतामा फस्नुभन्दा फुटलाई पनि अवसरमा परिणत गर्न नेताहरूलाई बाटो खुल्ला नै छ । एकताले अपेक्षा सिर्जना गरेको थियो, तर पार्टी जति नै ठूलो भए पनि विधि र पद्दतिमा हिँड्न सकेन भने त्यसले देश, जनाता र पार्टी कार्यकर्तामा कुनै परिवर्तन ल्याउन सक्दैन भन्ने कुरा नेकपाले प्रमाणित गरिदिएको छ । सके मिलेर अगाडि बढून्, नसके आ–आफ्नो बाटो लागून् तर देशलाई अकमन्यताको दलदलमा नफसाउन् ः आज जनजनको अपेक्षा यही हो ।