चार वर्षिय छोरीलाई छोडी युवतीले गरिन् आत्महत्या

काठमाडौंको कपनमा दुई युवा युवती एउटै रूखमा झुण्डिएर आत्महत्या गरेका छन् । कपन गुम्बा नजिकै मकैबारीमा रहेको रूखमा सोलुखुम्बुका २१ वर्षीय अमिर चन्द्र नाछिरिङ राई र निर्मला खालिङ राई एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

अमिर सोलुखुम्बुको सोताङ गाउँपालिका ४ नाम्लुङका वासिन्दा हुन् भने निर्मला माप्य दुधकोशी गाउँपालिकाकी हुन् । विवाहित निर्मला छोरी पढाउन काठमाडौंमा बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर छन् ।



चन्द्र भने एक महिना अगाडि काठमाडौं आएर फुपूसँगै बस्दै आएका थिए । यसअघि उनीहरू दुवैजनाले चुम्बन गरिरहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । फोटो सार्वजनिक भएकै राति दुवैजनाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

पोष्टमार्टमको लागि दुवै जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चन्दको भनाई छ । स्थानीयको अनुसार दुवै जना एक अर्काको प्रेममा रहेका थिए ।

कक्षा १२ मा पढ्दै गरेका युवक काठमाडौं आएपछि निर्मलासँग भेट्दै आएका थिए । घटना हुनुभन्दा पहिला निर्मलाले छोरीलाई बाहिरबाट ढोका बन्द गरेर गएकी थिइन् । ४ वर्षकी छोरी रातभर रोएपछि घरबेटीले निर्मलाका श्रीमानलाई मलेसियामा फोन गरेका थिए । ‘तिम्रो श्रीमती कता गएकी हुन्, छोरी रातभर रोएर बसेकी छिन्’ भन्दै घरबेटीले निर्मलाका श्रीमानलाई मलेसियामा फोन गरेका थिए ।

उनीहरूले आत्महत्या कुन समयमा गरेको भन्ने नखुलेपनि सोमबार बिहानै पवित्रा खड्काले पहिला देखेकी थिईन् । दुवै जनाले पवित्राकै बारीमा रहेको रूखमा आत्महत्या गरेका थिए ।

पवित्राले बिहान ६ बजेतिर घरको छतबाट बाहिर हेर्दा नजिकैको रूखमा दुई जना उभिए जस्तो अवस्थामा देखेकी थिइन् । पवित्राले को हो ? त्यहाँ किन उभिएको’ भन्दै प्रश्न समेत गरेकी थिइन् । तर कोही नबोलेपछि उनले कोही झुण्डिएको जस्तो लागेर एक जनालाई पठाएकी थिइन् । उनी नजिकै पुग्दा उनीहरु दुवैजना झुण्डिएको अवस्थामा देखिन् । उनीहरू दुवैजना एक अर्काको सल प्रयोग गरेर झुण्डिएका थिए । प्रहरीले यस सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार