चलचित्र क्षेत्रको लागि राम्रो काम गर्ने कुनै राजनीतिक दल भएनन्: ऋषि लामिछाने, निर्देशक

नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक ऋषि लामिछानेले १२ चलचित्र र झण्डै ५०० को संख्यामा टेलिचलचित्र निर्देशन गरिसकेका छन् । सल्यानको सुइकोटमा जन्मिएका उनले काठमाडौंबाट स्कुल लेवल पास गरेका थिए । २०४७ सालमा भित्तामा कुदिएका कथाहरू नाम नाटकबाट अभिनय यात्रा प्ररम्भ गरेका उनले झण्डै सयवटा स्टेज नाटकमा अभिनय पनि गरिसकेका छन् । २०५३ सालमा साथी नामक चलचित्रमार्फत् उनले मुख्य सहायक निर्देशकको रूपमा काम गरेर निर्देशनको क्षेत्रमा पाइला टेकेका थिए । उनले करिव २२ चलचित्रमा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । २०५९ सालमा कहीँ मिलन कहीँँ बिछोड नामक चलचित्रमार्फत् उनले सोलो निर्देशकको रूपमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो साम्राज्यको शुरूवात गरेका थिए । चलचित्रले सफल भयो र बम्पर व्यापार पनि गर्यो । उक्त चलचित्रबाट उनले धेरै अवार्डहरू हात पारे । त्यसपछि उनलाई यो क्षेत्रमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । आजसम्म उनका दर्जन बढी चलचित्रले दर्शको मन जितिसकेका छन् ।

उनका चर्चित चलचित्रमा आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती, हाम्रो माया जुनि जुनिलाई, सरी ल, किस्मत २, हवल्दार सुन्तलीलगायत छन् । यी सबै चलचित्रले नेपालमा सफलताको हिसाबले रेकर्ड कायम गरेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी थुप्रै अवर्डहरू हात पारेका छन् । नेपाली चलचित्र उद्योगमा अत्यन्त गर्वका साथ ऋषि लामिछानेको नाम अग्र पङ्तिमा आउँछ । नेपाली चलचित्रका अधिकांश अवार्ड कार्यक्रममा निर्णायकका रूपमा भूमिका निभाईरहेका लामिछाने हाल चलचित्र ‘भूमिका’ र ‘पुस्ता द जेनेरेशन’ को पोष्ट प्रोडक्शनको काममा व्यस्त छन् । उनै सफल अनि बहुचर्चित निर्देशक ऋषि लामिछानेसँग नवकान्तिपुर सम्वाददाताले गरेको कुराकानीको सङ्क्षिप्त रूप यहाँ प्रस्तुत गरिएको छ ।



पछिल्लो समय केमा व्यस्थहुनुहुन्छ ?
निर्देशकको हिसाबले मेरो व्यस्तता चलचित्र क्षेत्रमै हुने हो । हाल मेरो निर्देशन रहेको चलचित्र ‘भूमिका’ र ‘पुस्ता द जेनेरेशन’ को पोष्ट प्रोडक्शनको काम चलिरहेको छ भने चलचित्र ‘आमा जानुहोस्’ को स्क्रिप्टको काम भैरहेको छ । टेलि चलचित्र ‘दृष्टि’ लामो समयदेखि मेरो निर्देशनमा ओइपीएल रमाइलो टेलिभिजनमार्फत प्रशारण भैरहेको छ । मुलतः यिनै चलचित्र र टेलिचलचित्रको काममा व्यस्त छु ।

चलचित्र क्षेत्रको पछिल्लो अवस्थालाई कसरी हेर्नुभएको छ ? 
हिजोसम्म नेपाली चलचित्रहरू नेपालमा मात्र चल्ने गर्दथे । हिन्दीको नक्कल बढी गरिन्थ्यो । तर अहिले हाम्रा चलचित्रको माग देशमा मात्र नभई विदेशमा पनि बढी हुने गरेका छन् । बजेटका हिसाबले पनि नेपाली चलचित्र क्षेत्रमा निकै ठूलो लगानी हुन थालेको छ । कथानकका हिसाबले हाम्रा चलचित्रहरू कुनै पनि देशका चलचित्रभन्दा कम छैनन् । तर प्रविधिक हिसाबले भने हामी अझै धेरै पछाडि छौं । हामीले सिक्न धेरै बाँकी छ, गर्न पनि धेरै बाँकी छ । समग्रमा भन्नुपर्दा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले धेरै फड्को मारेको छ ।

नेपाली चलचित्रका अधिकांश अवार्डहरूमा जुरी बसिसक्नुभएको छ । तपाईलाई नै जुरी छान्नुको कारण के होला ?
राष्ट्रिय स्तरका होस् या अन्तर्राष्ट्रिय स्तरका, प्रायः अधिकांश अवार्ड कार्यक्रमहरूमा जुरी बसिसकेको छु । जहाँसम्म मलाई नै जुरीमा छनौट गर्ने कुरा छ, त्यसमा पक्कै पनि मैले गरेका कामहरूको इतिहास र वर्तमानको सफलताको मूल्याङ्कन, मैले निर्देशन गरेका सबै चलचित्रहरू सफल हुनु र मैले निष्पक्ष छनौट गर्ने भएकोले नै सम्मानित ठूला अवार्डहरूको जुरीको रूपमा छनौट गरिएको होला भन्ने मैले ठानेको छु ।

तपाईलाई त अवार्ड हन्टेड निर्देशन पनि भनिन्छ । धेरै अवार्ड पाउनुभएको छ । सर्वोत्कृष्ट भएर अवार्ड पाउदा कस्तो महसुस गर्नुहुन्छ ?
अवार्ड पाउदा आफूले गरेको कामको सही मूल्याङ्कन भएको जस्तो लाग्छ । साथै आफू अझ बढी नेपाली चलचित्र उद्योगप्रति, नेपाली चलचित्रको विकासप्रति चिन्तनशील भएर अझ धेरै राम्रा राम्रा कामहरू गर्ने र सिनेमाको माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने जिम्मेवारी बोध हुन्छ ।

नेपाली चलचित्रको राजनीतिमा पनि चासो राख्नुहुन्छ । अहिलेको समग्र नेपाली सिनेमाका संघ संस्था अनि निर्देशक समाजको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मान्छे सचेत रूपले होस् वा अचेतन रूपले होस्, राजनीतिबाट अलग हुन सक्दैन । तसर्थ म पनि एक सचेत नागरिकको हैसियतले जहाँ छु, जुन क्षेत्रमा छु, त्यो क्षेत्रको राजनीतिमा चासो राख्नु कुनै नौलो कुरा होइन । जहाँसम्म नेपाली चलचित्रको श्रीवृद्धिका लागि स्थापना भएका संघ संस्थाहरू छन्, ती कुनै पनि संघ संस्थाले उद्देश्य अनुरूप काम गरेकै छैनन् भन्दा पनि अत्युक्ति नहोला । जहाँसम्म निर्देशक समाजको कुरा छ, वर्तमान निर्देशक समाजको काम कारवाहीको स्थिति हेर्दा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै होला जस्तो अवस्थामा छ । तर पनि म आशावादी चाहिँ पक्कै छु । आशा छ, निर्देशकहरूको हक हितका कामहरू हुनेछन् । किनकि म आशावादी मान्छे हो, निराशावादी होइन ।

निर्देशक समाजको महासचिव भैसक्नुभयो । निर्देशक समाजको अध्यक्षमा उठ्नुहोस् भन्ने धेरैको शुभेच्छा थियो । किन पछि हट्नुभयो ?

मेरो व्यस्तताको कारण म नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा उठिनँ । काम कुरो एकातिर कुलो बोकी ठिमीतिर नहोस् भन्ने लाग्यो । मसँग काम धेरै छ । व्यस्त छु । आफ्नो कामलाई बढी प्राथमिकताका साथ रोजेँ मैले । मलाई राजनीति गर्न मन लागेन । अर्को कुरा म स्वतन्त्र मान्छे हुँ । स्वतन्त्र निर्देशक, कुनै पनि पार्टी, गुट–उपगुटको पछि कहिल्यै लागिनँ र जीवनभर लाग्ने छैन पनि । तर नेपाली चलचित्र निर्देशकहरू कोही कांग्रेस भए, कोही कम्युनिस्ट भए । स्वतन्त्र निर्देशक, जसले चलचित्र निर्देशकहरूको हक हितमा काम गरोस्, त्यस्तो कोही भएन । त्यसैले यो फोहोर राजनीतिमा लाग्नै मन लागेन ।

नेपाली चलचित्र र नेपाली राजनीतिका बारेमा के भन्नुहुन्छ ?
जुन जोगी आए पनि कानै चिरेका । हाम्रो चलचित्र उद्योगको विकासका लागि, विस्तारका लागि, श्रीवृद्धिका लागि नेपालका कुनै पनि राजनेताले कुनै योगदान दिएका छैनन् । त्यसैले यो विषयमा बहस नै नगरौं भन्छु म त ।

सम्बन्धित समाचार