बेलायतमा कोरोना भाइरसलाई जितेकी भगवती रानाभाटले नेपालीलाई दिइन् यस्तो सुझाव (अन्तर्वार्ता)

कोरोना भाइरसबाट विश्व नै आक्रान्त भैरहेको बेलामा नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीहरू पनि प्रभावित भएका छन् । नेपालमा आजसम्म ३ जना संक्रमित देखिएका छन् भने देशबाहिर रहेका नेपालीहरू पनि संक्रमणको शिकार भएको समाचारहरू प्राप्त भएका छन् । दुई नेपालीले भने कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । गत सोमबार हाल बेलायतमा रहँदै आएकी भगवती रानाभाटले सामाजिक सञ्जालमार्फत् आफू कोरोना भाइरसबाट संक्रमित भएको कुरा सार्वजनिक गरिन् । १३ दिन बितिसक्दासमेत कोरोना संक्रमणबाट मुक्त हुन नसकेको भन्दै उनले निराशा पोखेकी थिइन् । तर अन्ततः उनले कोरोनालाई जित्न सफल भएकी छिन् । चिकित्सकका अनुसार उनले कोरोनालाई जिते पनि पूर्ण कोरोना संक्रमण मुक्त हुन अरू केही दिन लाग्नेछ । हाल सेल्फ आइसोलेशनमा रहेकी उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किसकेको छ । कोरोनासँगको लडाइँको अनुभवका बारेमा उनले अनलाइन पत्रिका नवकान्तिपुर डटकमसँग गरेको कुराकानीलाई आजको सन्दर्भमा समसामयिक हुने ठानी उनीसँग भएको टेलिफोन वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सर्वप्रथम त तपाईले कोरोनमाथि विजयी हासिल गर्नुभएको छ । बधाई तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौं ।
धन्यबाद । तपाईहरूको सुभेक्षा, मेरो दृढ आत्माविश्वार र चिकित्सकहरूको निरन्तर निगरानीले आज म तपाईहरूसँग कुराकानी गर्न सकेको छु ।



तपाईमा कसरी कोरोना सर्नपुग्यो ?
कसरी सर्यो भन्ने त थाहै हुने रहेनछ । सामान्य काम गर्ने, घर जाने आउने गर्दैगर्दा ९ मार्चमा मलाई ज्वरो आउन थाल्यो । शुरूमा रूघा खोकी केही पनि थिएन । ज्वरोमात्र आइरहेको थियो । भोलिपल्ट घर नजिकैको क्लिनिकमा जँचाउँदा वहाँहरूले घरमै सेल्फ आइसोलेशनमा बस्न सुझाव दिनुभयो । प्यारासिटामोल खाएर ९ दिनसम्म घरमै बस्दा निको हुने छाँटकाट नै देखिएन । जति सिटामोल खाए पनि ज्वरो घट्दै नघट्ने भयो । अनि कोरोना जँचाउँन गएँ ।

कोरोनाको लक्षणको रूपमा त ज्वरोसँगै रूघा, खोकी पनि निरन्तर लाग्छ भनिन्छ । तर तपाईलाई ज्वरो मात्र आयो ?
मलाई रूघा त लाग्दै लागेन । नाकबाट पानीसमेत आएन, हाछ्युँ पनि आएन । खोकी पनि थिएन । अहिले पनि रूघा र खोकी मलाई छैन । तर छाती र छातीको पछाडिपट्टि दुख्ने भएको छ । ज्वरोसँगै टाउको दुख्ने र जिउ दुख्ने हुन्थ्यो ।

तपाईलाई कोरोना लागेको थाहा नपाउँदासम्म त परिवार र साथीभाईलाई पनि भेट्नु नै भयो होला । कोरोना देखिएपछि तपाईले भेटेकाहरूलाई त्यहाँको सरकारले कसरी खोज्यो ? तपाईमार्फत कसैमा सरेको जानकारी छ ?
अहिले अस्पतालबाट डिस्चार्ज भएपछि पनि मलाई १ हप्ता र मेरो परिवारलाई २ हप्ता सेल्फ आईसोलेशनमा बस्न भनिएको छ । शुरूदेखि नै म निकै सावधान थिएँ । ज्वरो आएपछि नै सतर्कता अपनाएका थियौं । त्योभन्दा अगाडि त परिवारसँगै थिए । भगवानको कृपा नै भनौं मेरो परिवारका कसैलाई पनि कोरोना सरेको रहेनछ । अस्पताल गएपछि मेरो परिवारलाई मलाई भेट्नै दिइएन । परिवारमै पनि नसरेकोले अरूमा पनि मेरोमार्फत कोरोना सरेको जानकारी आएको छैन ।

कोरोना लागेको थाहा पाएपछिको अनुभव बताइदिनुस् न ।
अस्पतालले कोरोना पुष्टि भएको बताएपछि निकै अत्तिएँ । परिवारमा पनि सर्यो होला भन्ने चिन्ता भयो । मरिहाल्छु कि भन्ने चिन्ता लाग्न थाल्यो । त्यसैले मैले अस्पतालबाटै फेसबुकमा पनि एउटा स्टाटस लेखेर सम्पूर्ण साथीहरूलाई जानकारी दिएकी थिएँ ।

निकै निराश भएर फेसबुकमा स्टाटस लेख्नुभएको थियो । त्यति बेला तपाईलाई साँच्चै कोरोनालाई जित्न नसक्ने भए भन्ने लागेको थियो ?
अस्पतालमा १३ दिन बस्दा र चिकित्सकहरूले विभिन्न एन्टिबायोटिक दिंदा पनि ममा अलिकति पनि सुधार आएको थिएन । शरीर निरन्तर शिथिल हुँदै गएको थियो । कोरोना संक्रमण भएको थाहा पाएको शुरूका दिनहरूमा त स्वास्थ्यमा खासै समस्या देखिएको थिएन । तर दिनप्रतिदिन स्वस्थ्य बिग्रँदै गयो र चिकित्सकहरूले दिएका औषधिहरूले पनि कामै नगरेपछि म निकै निराश भएकी थिएँ । सँगै रहेको एकजना बिरामीको अवस्था निकै बिग्रिएको थियो । डाक्टरहरूले पनि आश मारेका थिए । त्यो दृश्य देखेपछि मलाई पनि अब म बाँच्छु जस्तो लागेको थिएन ।

नेपालमा पनि ३ जनामा संक्रमण देखिएको छ । तपाईको अनुभवमा नेपालले के कस्तो तयारी गर्नुपर्ला ? संक्रमितले के कस्ता उपाया अवलम्बन गर्नुपर्ला ?
नेपाल र नेपालीलाई एकदमै सावधान अपनाउन अनुरोध गर्दछु । नेपालमा पनि लकडाउन लागु भएको जानकारी पाएको छु । यो नियमको एकदमै पालना गर्नुहोला । देख्दा सामान्य लागेपनि कोरोनाबाट बच्ने प्रभावकारी उपाय साबुन पानीले हात धुनु नै हो । सकेसम्म हातले आफ्नो आँखा नाकमा नछुनु होला । भिडभाडमा नजानुहोला । परिवारमा कसैमा ज्वरो आएमा सकेसम्म नजिक नबस्नुहोला ।

कोरोना संक्रमितलाई गोप्य रूपमा राख्ने गरिएको छ । तर तपाई त आफैं सार्वजनिक भएर सावधान अपनाउन भनिरहनुभएको छ । गोप्य राख्नुपर्छ भन्ने कुराको बिरोधमा हुनुहुन्छ तपाई ?
संक्रमितलाई गोप्य राख्नुपर्छ भन्ने कुराको मैले बिरोध गरेको छु । गोप्य राख्दा संक्रमण अरूलाई पनि सर्ने सम्भावना बढी हुन्छ । गोप्य राखेर साथी भाइलाई भेट्दै हिड्दा त मानवीयता पनि रहेन नि ! मैले आफूलाई कोरोना भएको जानकारी दिँदा मसँग नजिक भएकाहरूले चेकअप गर्ने अवसर पाए । सतर्क हुने अवसर पाए । त्यसैले यसलाई गोप्य राख्न हुँदैन भन्ने मेरो विचार हो ।

सम्बन्धित समाचार