कोरोना कहर : लुकिछिपी आएकालाई स्थानीयले घर पस्‍नै दिएनन्

पश्चिम नवलपरासीका सीमा नाकाबाट अझै पनि भारतहुँदै नेपाल आउनेको संख्यामा कमि आउन सकेको छैन । कोरोना (कोभिड-१९) बाट सुरक्षित रहन लकडाउन गरेको ९ दिन बितिसक्दा पनि लुकिछिपी नाकाबाट नेपाल आउनेको संख्या घट्न नसकेको प्रहरीले जनाएको छ ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै गाउँपालिका भारतसँग सीमाना जोडिएका छन् । यो जिल्ला भारतको उत्तर र बिहार प्रदेशसँग जोडिएको छ । सबैभन्दा बढी बिहारहुँदै आउनेको संख्या बढेको छ ।



प्रहरीले गस्ती बढाए पनि रातको समयमा लुकिछिपी नेपाल आउने गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले बताए । प्रहरीले कडाई गरेपछि अहिले रातको समयमा खेत र साँघुरा बाटोको प्रयोग गरेर नेपाल प्रवेश गर्ने गरेको थापाले बताए । नेपाल प्रवेश गर्नेमा भारतमा काम गर्न गएका अधिकांश नेपाली कामदार छन् । एक दुईजना भारतीय पनि रहेका छन् ।

विदेशबाट आएका वा कोरोनाको संक्रमणका लक्षण देखिएकालाई उपचारमा बस्नका लागि सबै पालिकाले क्वारेन्टाइन निर्माण गरेका छन् । अहिले क्वारेन्टाइनमा बस्नेको संख्या सीमासँग जोडिएका पालिकामा बढी छ । जिल्लामा २ सय २६ बेडका क्वारेन्टाइन निर्माण गरिएको छ । ८ ओटा आइसोलेसन छन् । सबै क्वारेन्टाइनमा बुधबारसम्म १ सय ३ जना उपचारका लागि बसेका छन् ।

भारत हुँदै घर आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका बञ्जरियाका ५ जना कामदारलाई स्थानीयले बाहिरै बसालेका छन् । उनीहरु भारतको आगराबाट नेपालगञ्जहुँदै मंगलबार राती घर आएका थिए । विदेशबाट आएकालाई क्वारेन्टाइनमा बस्न नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ । ‘मंगलबार राती उनीहरु घर आएका रहेछन् । गाउँलेले घरभित्र पसे अन्य परिवारलाई पनि समस्या हुने भन्दै सुझाव दिएका रहेछन् । त्यसैले उनीहरु रातभर मन्दिरमा बसेका थिए । बिहान परासीस्थित क्वारेन्टाइनमा ल्याएर राखिएको छ,’ रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले भने ।

घर परिवारले पनि सबैको स्वास्थ्यका लागि क्वारेन्टाइनमा जान सुझाव दिएका थिए । उनीहरु नेपालगञ्जबाट पैदल हिँडेर घर आएको स्थानीयले बताए । ‘भारतबाट आएका सर्वसाधारण पनि सचेत रहेछन् । उनीहरु आफै क्वारेन्टाइनमा बस्ने बताएपछि आदर्श माविको क्वारेन्टाइनमा राखिएको छ,’ नगरप्रमुख गुप्ताले भने । नगरपालिकाले सदरमुकाममा २५ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।

सम्बन्धित समाचार