आइपिएलमा दिल्लीद्वारा राजस्थान २० रनले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो ।

जारी सिजनमा  दिलीको यो छैटौं जित हो भने राजस्थानको तेस्रो हार । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरल र ज्याक फ्रेसर म्याकगुर्क अर्धशतकीय पारी खेल्दै क्रमश: ६५ र ५० रन बनाए भने ट्रिस्टन स्टब्सले ४१ रन जोडे ।



त्यस्तै गुल्बदिन नाबीले १९ रन जोड्दा अक्षर पटेल र कप्तान ऋषभ पन्तले समान १५-१५ रन बनाए । राजस्थानको लागि रविचन्द्रन आश्विनले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहलको भागमा समान १-१ विकेट रह्यो । २२२ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रनमात्र बनाउन सक्यो ।

राजस्थानको लागि कप्तान सन्जु स्यामसनले ८६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शुभम दुवेले २५ रन जोड्दा रियान परागले २७, जोस बटलरले १९ र रोभमन पावलले १३ रन बनाएका थिए । दिल्लीको लागि खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २–२ विकेट लिए भने अक्षर पटेलको भागमा एक विकेट रह्यो ।

जितपछि दिल्ली १२ खेलमा ६ जित र ६ हारसहित १२ अंक जोड्दै तालिकाक पाँचौं स्थानमा उक्लिएको छ भने ११ खेलमा १६ अंक जोडेको ८ जित र ३ हारसहित १६ अंक जोडेको राजस्थान दोस्रो स्थानमा रहेको छ। आइपिएलमा आज सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्स नेपाली समय अनुसार राति पौने ८ बजे भिड्दै छन् ।

सम्बन्धित समाचार