कोरोनाविरूद्ध लड्न विप्लवले दिए सरकारलाई १६ बुँदे सुझाव, मिलेर काम गर्न तयार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न सरकारलाई १६ बँदे सुझाव दिएको छ । शनिबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका महासचिव विप्लवले सरकारले गर्नुपर्ने विभिन्न १६ सुझाव दिएका हुन् ।

साथै उनले आफ्नो पार्टी सरकारसँग मिलेर काम गर्न पनि तयार रहेको बताएका छन् । ‘कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ। कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ,’ उनको विज्ञप्तिमा भनिएको छ,‘पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन्। आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ।’



यस्ता छन् विप्लवका सुझाव : 

१. कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ। सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ।

२. कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ ।

३. श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ ।

४. अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ ।

५. विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ ।

६. कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री ९एएभ्० को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ ।

७. भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ ।

८. चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ ।

९. मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ ।

१०. कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ । रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ ।

११. कोरोनाको सङ्क्रमणको आशङ्कामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ। त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।

१२. क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ ।

१३. कोरोनाको निहुँमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ । ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ । यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ। यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ ।

१४. आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निर्क्यौल गरेर मात्र आयात गर्नुपर्छ ।

१५. नेपाल-भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ ।

१६. परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ ।

सम्बन्धित समाचार