बेलायतमा कोरोनाका कारण थप तीन नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन जना नेपालीको मृत्यु भएको छ । मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक छन् भने एकजना पारिवारिक भेटघाटमा बेलायत आएका वृद्ध हुन् । मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको निधन भएको छ । नेपालमा पर्वत पैंयू घर भएका गुरुङ मधुमेहका रोगी थिए । १ साता पहिला अस्पताल भर्ना भएका उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का पूर्व गोर्खाको पनि बुधबार नै निधन भएको हो । ५८ वर्षीय शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो। केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा गाह्रो भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो ।



त्यसैगरी नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। परिवार भेट्न बेलायत आएका अन्दाजी ७६ वर्षका वृद्धको कोरोनाकै कारणबाट मृत्यु भएको उनी निकट पारिवारिक श्रोतले बताएको छ ।

बुधबार उनी उपचाररतः अस्पतालले फोन गरेर बचाउन नसकिएको जानकारी गरेको बताइएको छ। उनको त्यहाँ चार दिनदेखि उपचार भइरहेको थियो। परिवारको अनुरोधमा उनको परिचय खुलाइएको छैन। यसअघि बेलायतमा दुई नेपालीको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ। ६६ वर्षीय लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको दुई साताअघि निधन भएको थियो।

सम्बन्धित समाचार