नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिताको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ। यही साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो । तर उनको अन्तिम संस्कार भइसकेपछि मंगलबार कोरोना पुष्टि भएको हो ।
उपचारका क्रममा तीन दिनसम्म अस्पतालको शिक्षण अस्पतालको आईसीयुमा रहेका बस्नेतको मिर्गौलाको समस्याको कारणले मृत्यु भएको जानकारी आफन्तले दिएका थिए।
मृगौलाको समस्याका कारण मृत्यु भएको अस्पतालले बताएपछि उनको शव गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे ल्याइएको थियो। धार्मिक परम्पराअनुसार गरिएको अन्त्येष्टिमा १५ सय भन्दा धेरै जना सहभागी भएका थिए । कोरोनाको रिपोर्ट ढिला आउँदा कोरोना समुदायस्तरमै पुगेको हुनसक्ने आशंका गरिएको छ ।
नगरपालिकाले वडा नम्बर २ पूर्वको कर्थली बुँदेपा, नगरपालिका पूर्वको वडा नम्बर ४, उतरतर्फ वडा नम्बर ३ को खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्मको चार किल्ला भित्र सिल गरेको छ । सो क्षेत्रमा आजबाट ‘कन्ट्याक ट्रेसिङ’का लागि टोली खटाउने तयारी भएको छ।