ओलीलाई नैतिक दवाव दिन आफैं राजीनामा दिने तयारीमा प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी विवाद समाधानको कुनै सूत्र फेला नपरिरहेको बेलामा कार्यकारी अध्यक्ष आफैं राजीनामा दिने तयारीमा रहेको खुमलटार स्रोतले जानकारी दिएको छ । गत असार १० गतेबाट सुरुभएको नेकपाको स्थायी कमिटी बैठकले एजेण्डाभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि उत्पन्न विवाद पार्टी फुटको दिशामा आगाडि बढिरहेको छ । ओली दुबै पदबाट राजीनामा नदिने अडानमा छन् भने उनीइत्तरका प्रचण्ड र माधव नेपाल समूह भने राजीनामालाई नै बटम लाइन बनाउदै आएको छ ।

दुबै पक्ष आ–आफ्नो अडानमा रहेकोले जारी विवाद तत्काल समाधान हुने देखिंदैन । पछिल्लो समय त अध्यक्षद्वयबीच वार्ता पनि हुन सकिरहेको छैन । दर्जनभन्दा बढीपटकको वार्ताले कुनै निकाश दिन नसकेको भन्दै प्रचण्डले सहमतिको खाका तयार भएपछि मात्र वार्तामा बस्ने बताउँदै आएका छन् । अध्यक्षद्वयबीच वार्ता पनि नहुने र दुबै समूह आ–आफ्नो रणनीतिमा व्यस्त रहेकोले पार्टी फुटिहाल्ने हो कि भन्ने आशंकाले नेकपाका तल्लो तहका नेता र कार्यकर्ता चिन्तित देखिन्छन् ।



यता प्रचण्ड भने ओलीलाई राजीनामा दिन बाध्य पार्ने भन्दै अन्तिम अस्त्रको रूपमा आफै राजीनामा दिने तयारीमा छन् । विवाद समाधानको लागि भन्दै आफैंले कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिने तयारीमा उनी छन् । यसले सहमतिको लागि ओलीलाई पनि एक पदबाट राजीनामा दिन नौतिक दवाव पर्ने प्रचण्डको बुझाइ छ । आफूनिकटको परामर्शपछि प्रचण्ड राजीनामा दिन निर्णयमा पुगेको बताइन्छ ।

त्यसो त प्रचण्डले गत शनिबार ओलीनिकट मानिने महासचिव विष्णु पौडेलमार्फत पनि ओलीलाई यो सन्देश पठाएका थिए । महाधिवेशन मिति तोक्ने र दुबै अध्यक्षले राजीनामा दिने उनको प्रस्ताव छ । पार्टीका दोस्रो तहका नेताहरूलाई समेटेर महाधिवेशन आयोजक कमिटी बनाउने र आफूहरू पदमा नरही सो कमिटीलाई सहयोग गर्ने प्रचण्डको प्रस्ताव थियो । प्रचण्डको सो प्रस्तावलाई ओलीले कुनै प्रतिक्रिया नजनाएपछि प्रचण्ड एक्लै भए पनि राजीनामा दिने निष्कर्षमा पुगेको बताइन्छ ।

राजीनामा दिंदा माधव नेपाल अगाडि आउने ओलीको आशंका
प्रचण्डको प्रस्तावलाई महसचिव पौडेलले सकारात्मक रहेको भन्दै ओलीलाई विचार गर्न आग्रह गरेका थिए । तर ओलीले भने दुबै अध्यक्षले राजीनामा दिएर महाधिवेशन आयोजक कमिटी बनाउँदा स्वतः त्यसको संयोजक माधव नेपाल हुने भन्दै नेपाललाई अगाडि ल्याउनु पनि खतरानाक हुनसक्ने बताएका थिए । प्रचण्ड र नेपालले महाधिवेशन र आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने सहमति गरेकोले महाधिवेशनमा र त्यसपछि पनि जुनसुकै बेला आफूविरुद्ध षडयन्त्र हुन सक्ने ओलीले आशंका छन् ।

अहिले राजीनामा दिने, महाधिवेशनमा उम्मेद्वारी पनि नदिँदा त्यसपछि संसदीय दलको नेताबाट पनि हटाएर बीचमै प्रधानमन्त्री पनि छोड्नुपर्ने भयो भने इतिहासले निकम्मा नेताको रूपमा आफूलाई बुझ्ने भन्दै राजनीतिबाट सम्मानजनक बहिर्गमनको वातावरण बन्नुपर्ने शर्त ओलीले अगाडि सारेका छन् ।

समग्रमा हेर्दा नेकपाका दुई समूह जोगीदेखी भैसी र भैसीदेखि जोगी डराएझैं एकले अर्काको प्रस्तावलाई तौलने र अस्वीकार गर्ने गरिरहेका छन् । यही परिस्थिति कायमै रहे र दुबै समूहले चित्त बुझाउने मध्यमार्गी प्रस्ताव फेला नपर्दै नेकपामा फुटिहालेमा पनि आश्चर्य नमान्दा हुन्छ ।

सम्बन्धित समाचार