नवकान्तिपुर संवाददाता
जनकपुरधाम, २८ साउन ।

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयरको मृत्यु भएको छ । तत्कालीन जनकपुर नगरपालिकाका मेयर तथा रामा होटलका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको हो । ७२ वर्षीय गिरीको उपचारको क्रममा काठमाडौँको मेडिसिटी अस्पतालमा मंगलबार राति मृत्यु भएको हो।
जनकपुरधाममा स्थित आफ्नै घरमा करिब २० दिन अघि शौचायलयमा एक्कासी बेहोस भएर लडेपछि गिरीलाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौँ लगिएको थियो । मेडिसिटी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई आइसोलशनमा राखिएको थियो । केही दिन देखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोनाको कारण गिरीको मृत्यु भएको अनौपचारीक रुपमा थाहा भए पनि औपचारिक रुपमा अहिलेसम्म जानकारी नभएको बताए ।
गिरी रक्तचाप, मधुमेयलगायतका रोगबाट ग्रस्त थिए ।
