नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
अभिनेता सुशान्त सिंह राजपूतको निधन र त्यसपछि चर्किएको आफन्तवाद विरुद्धको अभियानको प्रभाव महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र सडक–२ मा पर्ने देखिएको छ । सुशान्तको निधनपछि उनका फ्यानहरुले नेपोटिजम विरुद्ध सामाजिक सञ्जालमा चर्को आवाज उठाएका थिए । उनीहरुले स्टार किड (स्थापित अभिनेता–अभिनेत्री, निर्माताका सन्तान) को चलचित्र बहिष्कार गर्ने घोषणा पनि गरेका थिए । त्यसको संकेत सडक–२ को ट्रेलरमा देखिएको छ ।
बुधबार बिहान सडक–२ को ट्रेलर युट्युब मार्फत सार्वजनिक भए लगत्तै सुशान्तका फ्यानहरुले त्यसलाई डिसलाइक गर्ने थाले । यो समाचार तयार पार्दासम्म ट्रेलर सार्वजनिक भएको तीन घण्टाको अवधिमा सडक–२ को ट्रेलर चार लाख ६९ हजार भन्दा धेरै पटक हेरिएको छ । तर यसमा डिसलाइक भने पाँच लाख १५ हजार भन्दा धेरैले गरेका छन् ।
ट्रेलर लाइक गर्नेको संख्या मात्रै ४९ हजार देखिएको छ । ५० हजार भन्दा धेरैले कमेन्ट गरेका छन् र कमेन्टमा पनि विरोध गर्नेहरुको संख्या धेरै रहेको छ । सडक–२ मा आलिया भट्टसँगै सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूरसहितको अभियन छ। सडक–२ मा सुरुमा सुशान्त सिंह राजपूतलाई लिने कुरा भए पनि मिलेको थिएन ।
यो चलचित्र अगस्ट २८ मा स्ट्रिमिङ्ग सेवा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ । केही समयअघि सार्वजनिक भएको सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र दिल बेचरालाई भने उनका फ्यानले अति रुचाएका थिए ।