नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबिच अवरुद्ध भएको संवाद पुनः सुरु भएको छ । गएको हप्ताको मंगलबार (साउन २० गते) प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ९ दिनपछि बिहीबार पुनः संवाद शृङ्खला सुरु भएको हो ।
ओली र प्रचण्डबिच प्रधानमन्त्री निवासमा छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् । साउन २० गतेको भेटमा ठोस सहमति नभए पनि भोलिपल्ट भेट्ने गरी छुट्टिएका ओली र प्रचण्डबिच यो बिचमा टेलिफोनमा समेत संवाद हुन सकेको थिएन ।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पत्रकार भेला गरेर ओलीविरुद्ध खनिएपछि साउन २१ गते हुने भनिएको छलफल भाँडिएको थियो । त्यसपछि आफ्ना ६ सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि प्रचण्ड आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए ।
ओली–प्रचण्डबिच संवाद हिनताको अवस्था रहेका बेला नेकपाका दोस्रो तहका नेताहरु भने पार्टी भित्रको आन्तरिक कलह अन्त्य गर्ने प्रयासमा जुटेका थिए । महासचिव विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, जनार्जन शर्मा, वर्षमान पुनसहितका नेताहरुले विवाद समाधानका लागि कोशिश गरेका थिए ।
प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पाँच दिन भित्र पार्टी भित्रको वातावरण परिवर्तन हुने दाबी गरेका छन् ।
