नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनका लागि जारी गर्दै आएको पास र काठमाडौँ भित्रिने सवारीका लागि सवारी पास स्वीकृति बन्द गरेको छ ।
गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहीबारदेखि लागु हुनेगरी हाल जारी हुँदै आएका सवारी पास बन्द गर्न निर्देशन दिएको थियो ।
गृह मन्त्रालयबाट प्राप्त सोही पत्र बमोजिम काठमाडौँ उपत्यका बाहिर जाने सवारी साधनका लागि वितरण गर्दै आएको पास अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै उपत्यका बाहिरबाट आउने सवारीका लागि दिँदै आएको स्वीकृति पनि बन्द गरिएको छ ।
पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत रोक्ने निर्णय गरेको हो ।
