कोरोना कहर : के व्यवसायीहरू पलायनको बाटोमा पुगेका हुन् ?

काठमाडौं उपत्यकामा पछिल्ला केही हप्तादेखि कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । जनस्तरमा जनस्वास्थ्यका मापदण्डहरू सही तरिकालाई पालना नगर्दा संक्रमणको जोखिम पनि झन बढ्दै गएको छ ।

हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ । शुक्रबार मात्रै काठमाडौं उत्यकामा १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



कोरोना भाइरस संक्रमितहरूको संख्या बढेसँगै काठमाडौंका कोरोना हब अस्पताल संक्रमितले भरिएन थोका छन्, जसले गर्दा क्षमताभन्दा बढी संक्रमितलाई अस्पतालहरूमा राख्नुपर्ने बाध्यता छ । पछिल्लो समयमा संक्रमितहरूमा लक्षणसमेत देखिन थालेपछि संक्रमित बिरामीहरूका लागि आईसीयू र अक्सिजनसमेत आवश्यक पर्न थालेको छ ।

यसरी काठमाडौं उपत्यकामा संक्रमितहरू बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर व्यापार व्यवसायहरूमा पर्न गएको छ । चारमहिना लामो लकडाउनका कारण बन्द भएका ब्यापार व्यवसायहरू केही दिनअघि सञ्चालनमा आएका थिए । तर कोरोना संक्रमणको जोखिम बढेसँगै उपत्यकाभित्रका विभिन्न स्थानहरू सिल गरिएपछि ब्यापार व्यवसायहरू बन्द हुने अवस्थामा पुगेका हुन् । संक्रमणको जोखिमलाई ध्यान दिदै स्थानीय तह र प्रशासनले उपत्यकाका विभिन्न स्थानहरूमा सिल गरेपछि त्यस क्षेत्रमा औषधि र खाधान्न बाहेकका सबै पसलहरू पूर्ण रूपमा बन्द भएका छन् । सिल गरिएका बाहेक अन्य स्थानहरूमा पनि मानिसहरूको चहलपहल कम हुँदा त्यस क्षेत्रका व्यापारीहरू पनि व्यापार नभएकोमा चिन्तित छन् ।

पछिल्लो पटक सरकारले कोरोना भाइरस संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेका भन्दै फुटपाथ, ठेलागाडा तथा साइकललगायतमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार र कवाडी संकलनमा रोक समेत लगाएको छ । त्यसैगरी गत साउन १५ गतेबाट खुला गरिएका होटल तथा रेष्टुरेन्टहरूले अहिले ‘टेक अवे’ सेवा मात्र दिने गरेका छन् ।

व्यवसाय छोड्दै व्यवसायीहरू :

लकडाउनका कारण लामो समयसम्म ठप्प रहेको व्यापार व्यवसायलाई उत्साहित भएर केही समय अघि खोलेका व्यवसायीहरूमा पुनः निराशा छाएको छ । व्यापार व्यवसाय सञ्चालन गरे पनि कोरोनाको डरले गर्दा ग्राहकहरु नआएको र संक्रमणको जोखिम पनि झनझन बढ्दै गएकोले व्यापारीहरू धमाधम आफ्नो व्यापार व्यवसाय बन्द गर्न थालेका छन् । राम्रोसँग व्यापार नहुने र घरबेटीले पनि भाडा नघटाउने भएर अहिले व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन् । कोरोनाबाट समाज सामान्य अवस्थामा आउन कति समय लाग्ला भन्ने अनिश्चय भएको यस घडीमा सरकारले उचित पहल नगर्ने हो भने धेरै व्यवसायीहरू आफ्नो व्यवसाय छोड्न बाध्य हुने र देशमा बेरोजगारीको संख्या बढ्दै जाने निश्चित देखिन्छ ।

 

काठमाडौंका मुख्य व्यापारीक क्षेत्र सुन्धारा, बानेश्वर, दरबारमार्ग, महाबौद्ध र न्यूरोडलगायतका धेरै ठाउँमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरूका सटर बन्द अवस्थामा रहेको देखिन्छन् भने कतिपय ठाउँमा ‘पसल भाडामा’ वा ‘पसल बिक्रीमा’ लखेर टाँसेर राखेका सूचनाहरू समेत देख्न पाइन्छ ।

सम्बन्धित समाचार