नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगन्जस्थित कोभिड गण्डक अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिकाकै मुर्ली निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
‘साँझ ७ बजेतिर सास फेर्न अप्ठेरो भयो भन्नुभएको थियो,’ डा. सिंहले भने, ‘अचानक उहाँको मृत्यु भयो ।’ डा. सिंहका अनुसार यही साउन २४ गते गण्डकमा भर्ना भएका उनमा पहिलेदेखि मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिस समस्या थिए ।
‘उहाँलाई निमोनियाँ पनि खासै कडा थिएन,’ उनले भने, ‘मधुमेहको समस्या भएको मान्छे, मुटुका कारण पनि अचानक मृत्यु भएको हुन सक्छ ।’ मृत्यु हुने बेला उनका छोरा पनि सँगै थिए । ती वृद्ध अन्त कतै गएका मानिस थिएनन्, गाउँमै बसेका व्यक्ति थिए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ ।
