नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार बिहानै पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदी पुगेका छन् । प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र प्रहरी अधिकारीसहित मुख्यमन्त्री पौडेल हेलिकप्टरमा त्यहाँ गएका हुन् ।
शुक्रबार बिहान पहिरो जाँदा लिदीमा ठूलो जनधनको क्षति भएको छ । पहिरोमा परेर अझै २६ जना बेपत्ता छन् भने १२ जनाको शव फेला परेको छ । बेपत्ता २७ मध्ये एक जनाको शनिबार बिहान शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । ‘पहिरोमा हराइरहेका २६ जनाको शनिबार बिहानैदेखि खोजी चलिरहेको छ,’ एसपी महर्जनले भने, ‘खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।’
पहिरोले ३७ वटा घरमा क्षति पुगेको छ । त्यसमध्ये १३ वटा घरलाई पहिरोले कामै नलाग्ने गरी पुरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरोमा परेर घाइते भएका पाँच जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ। पहिरोबाट विस्थापित परिवारले गएराति त्रिपालमुनि बसेर रात काटेका छन् ।
०७२ को भूकम्पले क्षतविक्ष्ँत भएको लिदीलाई पुनर्निर्माण प्राधिकरणले यसअघि नै बस्न अयोग्य घोषणा गरेको थियो । तर, सरकारले बस्ती स्थानान्तरणमा चासो नदेखाउँदा लिदीका नागरिकले ठूलो क्षति बेहोरेका छन् ।
पहिरो गएको बस्तीको निरीक्षण गर्न शनिबार गृहमन्त्री रामबहादुर थापा र सभामुख अग्नीप्रसाद सापकोटा पनि लिदी पुगेका थिए । उनीहरुले विस्थापितको पुनस्थापनामा सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।
