नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
केही हप्तादेखि नबसिरहेको सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि (सोमबार) बिहान बस्ने भएको छ । पार्टीको शीर्ष तहमा चुलिएको विवाद मत्थर हुँदै गइरहेका बेला पार्टीको औपचारिक बैठक समेत बस्न लागेको हो ।
‘भोलि बिहान ९ः३० बजे सचिवालय बैठक बस्ने भनी खबर आएको छ,’ पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने । सचिवालय बैठकले शुक्रबार गठन गरेको कार्यदलको विषयलाई अनुमोदन गर्ने र कार्यादेश दिने सचिवालयका एक सदस्यले जानकारी दिए ।
पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको हो ।
सचिवालय बैठकपछि यसै हप्ता मन्त्रीसमेत हेरफेर हुने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।