नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा आजभोलि कोरोना संक्रमण परीक्षण गर्नेहरूको लाइन लागेको देखिन्छ । कोरोना परीक्षणको लागि बिहानैदेखि लाइन लागेको हुन्छ । टेकुमा दैनिक ६ सयदेखि ७ सय जना कोरोना परीक्षण गराउनको लागि आउने गर्छन् । यसरी कोरोना परीक्षण गराउन आउनेहरूमा अधिकांश तराईबाट आएकाहरू भेटिन्छन् । कोरोना परीक्षण गराउन अस्पताल आएकाहरू नै त्यहाँको भीड देखेर त्रसित हुनुपर्ने अवस्था छ । अव्यवस्थित भीडका कारण कोरोना परीक्षण गराउन आउनेहरू त्यहाँको भीडबाट नै कोरोना सर्छ कि भनेर डराउने गरेका छन् । भीडलाई व्यवस्थित गरे पनि फेरि एकैछिनमा भीड लाग्ने गरेको त्यहाँका डाक्टरहरू बताउँछन् । अहिले टेकु अस्पतालले दैनिक तीन सय स्वाब संकलन गर्दै आएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गइरहेका छन् । कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी नहुनु, भौतिक दुरी कायम नहुनु, बाहिरी जिल्लाबाट उपत्यकामा मानिसहरूको प्रवेश बढ्नु, आवतजावतका क्रममा मास्कको उचित प्रयोग नगर्नु, पर्याप्त मात्रामा परीक्षण दर नबढ्नु र लकडाउन अन्त्यसँगै मानिसहरू अनियन्त्रित रूपमा आवतजावत गर्नु आदि कारणले उपत्यकामा संक्रमणको जोखिम बढेको देखिन्छ ।
भरिन थाले कोभिड अस्पतालहरू
कोरोना संक्रमितहरूको उपचारको लागि काठमाडौं उपत्यकामा सरकारले तोकेका ६ वटा अस्पताल छन् । सरकारले तोकेका अस्पतालहरूमा सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पताल, पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र कीर्तिपुर आयुर्वेदिक अस्पताल रहेका छन् । पछिल्लो समय लक्षणसहितका कोरोना भाइरसका संक्रमित बढेपछि आइसियू र भेन्टिलेटरको समेत आवश्यक पर्न थालेको अवस्थामा आइसोलेसन वार्डको समेत अभाव देखिन थालेको छ । कोभिड संक्रमितहरूको उपचार गर्न भन्दै छुट्याइएका अस्पतालका बेडहरू भरिभराउ भएपछि संक्रमितहरूघरमै रोकिन थालेका छन् । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाकाका अनुसार सरकारी मापदण्ड पालना गर्ने सर्तमा काठमाडौं उपत्यकामा सोमबारसम्म ३ सय ५० जना संक्रमित घरमै रहेका छन् । उनीहरूलाई स्वास्थ्यकर्मीले फोनबाट निगरानी गर्ने गरेको महाशाखाले जनाएको छ तर यसरी घरमै राखेका संक्रमितहरूले मापदण्ड पालना गरे नगरेको निगरानी नगरे त्यसले घर–परिवार र समुदायलाई नै जोखिम निम्त्याउन सक्ने खतरा रहेको जन स्वास्थ्यविद्हरूले बताउँने गरेका छन् । 
काठमाडौं उपत्यकामा आइतबार मात्रै १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जुन हालसम्मकै बढी हो । स्वास्थ्य मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरूको संख्या बढ्नु आफैंमा खतराको लक्षण भएको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्दै आइरहेको छ ।

