नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। १२ दिनदेखि अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय पुरुषको केही समय अगाडि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट १ सय ४ जनाको मृत्यु भएको छ।
आइतबार मात्रै देशभर ६ सय ४१ संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ थपिएका छन्। पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।