नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदाै
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । आज बिहान ९ बजे बालुवाटारमा सुरू हुने बैठकले आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने नेताहरूले बताएका छन् ।
त्यस्तै आजको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे पनि छलफल हुने बताइएको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले यस्को तयारी थालेका छन् ।
गत साता दुवै अध्यक्षबीच निरन्तर द्विपक्षीय छलफल पछि कार्यदल गठन भएको थियो । छलफलकै क्रममा ओली र प्रचण्डले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए ।
यही कार्यदललाई वैधानिकता र कार्यदेश दिनका लागि सचिवालय बैठक बस्न लागेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।