गोंगबु हत्याकाण्ड : भेटियो तन्त्रविद्याको नोटबुक, हिप्नोटाइजमा पनि कल्पनाको रुची

गएको ६ दिनदेखि कल्पना मुडभरी (पौडेल) प्रहरी हिरासतमा छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा कैद छिन् उनी । उनले गरेका अपराधको सजाय प्रहरी नियन्त्रणमा रहेकी १५ वर्षीया छोरीलेमात्र होइन प्रहरीको घेराबाट बाहिर रहेका १२ वर्षीय अबोध छोराले पनि खेपिरहेका छन् ।

१२ वर्षीय छोरा आमासँग छुट्टिँदा न्यास्रिएका छन् । केही समय मानव सेवा आश्रमले आश्रय दिएका बालकलाई अहिले उनका आफन्तले लगेका छन् । यता प्रहरीको अनुसन्धान टोली हत्याको कारण खोज्न लागिरहेको छ । पछिल्लो केही दिन यता कल्पनाले भने आफ्नो बयान फेरेकी छिन् । सुरुमा आर्थिक लेनदेन, प्रहरीले सार्वजनिक गर्दा अश्लिल तस्विर सामाजिक सञ्जालमा हाल्नुलाई हत्याको कारण बताएकी थिइन् उनले । तर, अहिले आफू र छोरीको बलात्कार प्रयास भएको बयान दिन थालेकी छिन् ।



छोरीमाथि जाइलागेपछि सहन नसकेर हत्या गरेको उनको पछिल्लो बयान छ । प्रहरी उनको बयान, घटनाको प्रकृति र अन्य सबुतलाई हेरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारीमा छ । हत्याको कारण जे भए पनि एउटा यति विभत्स हत्यामा कोही किन उत्रिन्छ भन्ने प्रश्न धेरैले गरिरहेका छन् ।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा तान्त्रिक विद्याबारे लेखिएको कापी समेत फेला पारेको छ । उनले विभिन्न तान्त्रिक विद्याको जानकारी राख्न खोजेको समेत देखिएको छ । उनले हिप्नोटाइज कसरी गर्ने भन्ने विषयमा समेत रुची राखेको उनको कोठामा पाएको कागजले देखाएको छ । ‘केही कपी छन् जहाँ हिप्नोटाइज र अन्य तान्त्रिक गुरुको कुराहरु लेखिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । के कल्पनाले हिप्नोटाइज गरिन् रु अनि त्यसपछि टुक्रा टुक्रा पारियो त ?

त्यसो त उनले बयानमा बोहोराले छोरीलाई दुर्व्यवहार गरेपछि आफूले सहन नसकेर ज्यानमा देवी चढेको समेत बताएकी छिन् । बोहराको हत्याले १२ वर्ष अघिको ख्याती हत्या प्रकरणको झल्को दिएको छ ।

२०६६ जेठ २२ मा अनामनगर बस्ने १९ वर्षकी ख्याती श्रेष्ठ हराइन् । त्यसपछि उनको अपहरण गरेको भन्दै अहरणकारीले फोन गरेर परिवारसँग फिरौती रकम मागे । अपहरण भएको १७ दिनपछि प्रहरीले विरेन श्रेष्ठलाई सोह्रखुट्टेबाट पक्राउ गर्‍यो । पक्राउपछि श्रेष्ठले पुतलीसडकबाट ख्यातीलाई सोही दिन आफ्नो खुसिंबुको कोठामा लगि कफीमा बेहोस हुने औषधि हालेर खुवाई रडले टाउकोमा हानी हत्या गरेको खुलेको थियो ।

घटनामा वीरेनकै १६ वर्षीया छात्रा मेरिना शाक्य पनि मुछिन् । उनीहरु अहिले कैद भुक्तान गरिरहेका छन् । ख्यातीको शरीरका भाग ललितपुरको बुङमति, काठमाडौं र चितवनमा फेला परेका थिए । उनले शरीरलाई टुक्रा टुक्रा बनाएर तीन जिल्ला पुर्‍याएर फालेका थिए ।

‘विरेन आफैंमा विज्ञान सम्वन्धि जानकारी भएको व्यक्ति हो । उसले धेरै मेहनत गरेर शबलाई टुक्रा टुक्रा गरेको देखिएको थियो,’ त्यतिखेर अनुसन्धानमा खटिएका डीएसपी हृदयस थापाले भने ।

विरेनले शवको पहिचान लुगाउनको लागि टुक्राटुक्रा पारेका थिए । उनी चिकित्सशास्त्रको समेत जानकार भएकाले शवलाई सहजै टुक्रा पारेका थिए । उनले केही दिनसम्म शवबाट छुट्याएको टाउको फ्रिजमा राखेर जोगाएका थिए ।

तर, कल्पनाको हकमा भने केही फरक छ । महिला एक्लैले शव काटेर फ्याँक्ने सम्भावना कम हुने भन्दै अन्य मानिसको संलग्नता हुनसक्ने प्रहरीको आँकलन थियो । त्यही शंकाको आधारमा अनुसन्धान नगरेको पनि होइन । तर, अहिलेसम्म अन्य व्यक्तिको संलग्नता देखिएको छैन । कल्पनालाई काठमाडौंबाट चितवन पुर्‍याउन प्रयोग भएको एम्बुलेन्सका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

उनले ६ हजार रुपैयाँ लिएर चितवन पुर्‍याएको र घटनाको जानकारी नभएको खुलेपछि उनलाई छाडिएको थियो ।

सम्बन्धित समाचार