नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदाै ।
सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको छ । विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै उद्धार उडान स्थगित गरिएको हो ।
४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछि उद्धार उडान स्थगित गरिएको नागरिक उड्ययन प्राधिकरण स्रोतले जनाएको छ । पछिल्ला दिनमा संक्रमित बढेसँगै विभिन्न जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन र सिल नै गरिएपछि विदेशबाट ल्याइएको व्यवस्थापनमा समस्या हुने सरकारको विश्लेषण छ ।
उद्धार उडान रोक्ने सरकारको निर्णयसँगै विभिन्न वायुसेवा कम्पनीले गर्ने भनिएको उद्धार उडान अर्को सूचना नभएसम्मका लागि रद्द भएका छन् । कोभिड–१९ महामारीका कारण सोमबारदेखि नै पाँचौं चरणको उद्धार उडान सुरू भएको एक दिन नहुँदै उडान स्थगित गरिएको हो ।सोमबार हिमालय एयरलाइन्सले मलेसियाबाट र फ्लाई दुवइको उडानबाट गरी ३१८ जना नेपाली स्वदेश फर्किएका थिए ।