
भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने परम्परागत इन्द्र जात्रा तथा राजा जयप्रकाश मल्लाको पालादेखि हुँदै आएको जीवित देवी कुमारीको जात्रा यो वर्ष नहुने भएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष इन्द्र तथा कुमारी जात्रासहितका जात्रा नगर्ने निर्णय गरेको समितिका वरिष्ठ उपाध्यक्ष शरदकुमार डंगोलले जानकारी दिए ।
डंगोलले भने, ‘गाईजात्रासम्म कोरोना भाइरसको संक्रमण त्यति तीव्र गतिमा फैलिएको थिएन । अहिले संक्रमण काठमाडौँ उपत्यकामा अति बढेको छ । जात्रा गर्दा भिडभाड हुने र संक्रमणको जोखिम बढ्ने भएकाले यो वर्षका लागि जात्रा नगर्ने निर्णय गरेका हौँ ।’
सरकारले धार्मिक स्थल खुला नगरेको तथा भिडभाड नगर्न भनेकाले पनि सोही अनुसार जात्रा स्थगित गरिएको समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्ष डंगोलले भने, ‘हामी रहे न भगवानको जात्रा तथा स्याहार गर्न सक्छौँ । अहिले त जात्रा गर्दा संक्रमण हुने डर भयो । सोही भएर रोकेका हौँ । तर तिथि अनुसार विशेष पूजासहित क्षमा पूजा भने गर्ने छौँ ।’
इन्द्रजात्राका लागि भदौ ३ गते बुधबार काभ्रेको नालाबाट लिंगो ल्याउने साइत हो । तर यो वर्ष लिंगो ल्याउन नजाने उनले जानकारी दिए । भदौ १४ गते लिंगो ढड्याइ त्यसको दुई दिनपछि अर्थात १६ गते इन्द्र जात्रा मनाउने तिथि छ ।
डंगोलले यस वर्षको जात्रा स्थगित गरेपछिको प्रक्रियाबारे स्पष्ट पार्दै भने, ‘जात्रा रोकिएको हो, तर तिथि अनुसारका दिनमा सम्बन्धित ठाउँमा सीमित व्यक्तिको उपस्थितिमा विशेष पूजा र क्षमा पूजा भने गरिन्छ । लिंगो नठड्याए पनि सो दिन पूजा हुन्छ ।’
भगवान इन्द्र आफ्नी आमालाई पूजाका लागि चाहिएको पारिजातको फूल लिन काठमाडौँ (पृथ्वी लोक) आएका बेला ‘चोर’ भनी स्थानीय महिलाले बाँधेर राखेको किंवदन्तीसँग जोडिएको इन्द्र जात्रा कोरोना कहरका कारण नहुने भएको हो । यसअघि २०६५ सालमा इन्द्रजात्रा सुरु भए पनि विधिवत रुपमा सम्पन्न हुन पाएको थिएन ।
यस्तै जयप्रकाश मल्लको पालादेखि हुँदै आएको कुमारीको रथ यात्रा पनि पूर्ण रुपमा रोकिएको यो पहिलो घटना भएको समितिले जानकारी दिएको छ ।
