
नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मंगलबार बिहान निधन भएको छ । उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
निमोनियासमेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेशन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । आफूलाई कोरोना पोजेटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेण्टाइनमा बस्न आग्रह गर्दै अस्पताल शैयाबाट गिरीले फेसबुकमा स्ट्याटस लेखेर सबैलाई सजग गराएका थिए ।
बुटवलबाट पाटन अस्पतालमा लैजानका लागि परिवारजनले २ दिनसम्म हेलिकप्टर र एम्बुलेन्स खोजेपनि नपाएपछि गिरी परिवारले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर पाटन अस्पताल पुर्याएका थिए । तत्कालीन फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि गिरी कांग्रेसको जिल्ला उपसभापति बनेका थिए ।
हालसम्म जिल्लामा १ सय ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
