
नेपाल डिष्टिलरीज् प्रा.लि.द्वारा उत्पादित ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत रम समूहमा ९४ अङ्क हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लण्डन स्पिरिट्स प्रतियोगिताको आयोजना २०२० जुलाई ६ तारिखमा लण्डनमा गरिएको थियो र सोही प्रतियोगितामा नेपाल डिष्टिलरीज् प्रा.लि. खुकुरी थ्री एक्स रमको लागि स्वर्ण पदकद्वारा पुरस्कृत भएको थियो । प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङ्गका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निर्णायकहरुले अन्य उच्चकोटीका प्रतिस्पर्धी रमहरुको दाँजोमा यो नेपाली रमलाई १०० मध्ये कूल ९४ सर्वोत्कृष्ट अङ्क प्रदान गरेर खुकुरी रम विश्वव्यापी रूपमा मान्यता प्राप्त रम भएको छाप लगाइदिएका थिए ।
‘नेपाल डिष्टिलरीज्ले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरूका साथ बहन गर्दै आएको र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रूपमा यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरवान्वित भएका छौं’ नेपाल डिस्टिलरीज्का कार्यकारी प्रमुख कृष्णकुमार चुरिवालाले भने ।
‘विश्वव्यापी स्तरका गुणस्तरीय रम उत्पादकहरूको सूचीमा समावेश हुन पाउँदा नेपाल डिस्टिलरी प्रा.लि.अत्यन्त गौरवान्वित एवं सम्मानित भएको महसुस गर्दछ । सुप्रसिद्ध मिक्सोलोजिस्टहरू, विशेषज्ञहरू र उत्पादकरूबाट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गर्नुले हिमाली राज्यबाट विश्वव्यापी रूपमा सबैका लागि उत्कृष्ट मदिराहरू बनाउने हाम्रो कला र उत्कृटताप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ बल पु¥याएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ ।
