‘मृत्युको कुनै ठेगान छैन, कसरी पो मरिने हो, रोगले या भोकले’

लामो समयको लकडाउन खुलेसँगै चहलपहल बढ्न थालेको काठमाडौं फेरि सुनसान हुन थालेको छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं मुख्य व्यापारिक क्षेत्रहरू सिल गरिएका छन् । अरू बेला मानिसहरूको भीडभाड हुने न्युरोड, महाबौद्ध, असन, इन्द्रचोक र वसन्तपुर क्षेत्रहरूमा आजभोलि मानिसहरूको चहलपहल न्युन छ । तर यी क्षेत्रका भित्री गल्लीहरूमा एकाबिहानैदेखि साँझसम्म अझै पनि केही आशाहरू डुलिरहेका छन् । ती आशाहरू कतिपयका लागि सामान्य भए पनि कयौं श्यामबहादुरका लागि त्यसले ठूलै अर्थ राख्दछ ।

अहिले यो धर्तीमा नै त्यस्तो भाइरस देखा परेको छ, जसले सबैलाई समान व्यवाहार गरेको छ । कसैलाई पक्षपात छैन, के धनी के गरिब, के बालक, के वृद्ध सबैका लागि उस्तै छ । यति हुँदाहुँदै पनि तर भाइरसले निम्त्याएको परिस्थिति भने सबैका लागि समान भएन, छैन ।



कोरोनाको जोखिम बढेपछि छेउछाउका धेरै पसलहरू बन्द छन्, वर्षायामको समय पनि भएकाले पानी परिरहेको छ । सधै भीडभाड हुने इन्द्रचोकमा मानिसहरूको चहलपहल पनि खासै छैन । इन्द्रचोकसँगैको आकाशभैरव मन्दिरको छेवैमा उनी उभिरहेको करिव दुई घण्टाभन्दा बढी भइसक्यो तर पनि पानी पर्न रोकिएको छैन, रोकिएला जस्तो पनि छैन । हाफ पाइन्ट, निलो टि–सर्ट त्यसमाथि स्कोट, मुखमा कालो मास्क र हातमा नाम्लो समाएर उभिरहेका छन् ६१ वर्षीय श्यामबहादुर तामाङ । दिउँसोको तीन बजिसकेको छ । यो बेलासम्म उनले दुईटा भारी (२० र ३० रूपैयाँको) बोकिसकेका छन् । अधिकांश पसल बन्द हुनु र पानी पनि परिरहेकोले उनले आज खासै भारी बोक्नै पाएनन् । ‘कत्ति पनि कमाइ नै नभएका दिनहरू पनि कति छन् कति’ उनी सुनाउँछन्– ‘आजलाई पनि यही दुईटा (पचास रूपैया) भारी नै हो जस्तो छ । पानी पनि रोकिएला जस्तो छैन ।’ बिहान करिब नौ बजेतिर हातमा नाम्लो बोकेर कोठबाट निस्केका उनको आजको दैनिकी यत्तिकै बित्ने जस्तो छ ।

श्यामबहादुरको घर नुवाकोट हो । उनको दुई जनाको परिवार (बुढाबुढी) बालाजुमा कोठाभाडामा लिएर बस्छन् । कमाई नभए पछि उनले तीन महिनासम्मको कोठाभाडा पनि तिर्न सकेका छैनन् । उनी भन्छन् ‘कमाई होला र कोठाभाडा तिरौंला भन्ने सोचेको तर कमाई दिनमा यही सय पचास मात्रै छ, काम नै पाइँदैन ।’ उनको भारीको मूल्य भने कति टाढासम्म बोक्नुपर्ने हो र भारी कत्रो छ त्यसमा भर पर्छ । लामो समयदेखि भारी बोक्दै आइरहेका श्यामबहादुरको दैनिकी आजकाल पहिलेका व्यस्त बजार (अहिले सुनसान) गल्लीहरूमा काम खोज्दै खोज्दै बित्छ । कुनै दिन बिहानको आशा साँझसम्म निराशामा परिणत भइदिए पनि फेरि श्यामबहादुरको दैनिकी यसरी नै दोहोरिरहन्छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेको काठमाडौंमा उनलाई कोरोनाको डर छैन । उनी भन्छन् ‘मान्छेको मृत्युको कुनै ठेगान छैन, कसरी पो मरिने हो, रोगले या भोकले तर पनि बाच्नका लागि काम गर्नै पर्छ ।’ देशका प्रधानमन्त्री र राष्ट्रपतिको नाम समेत थाहाँ नभएका श्यामबहादुर भन्छन् ‘देशमा जुनसुकै सरकार आए पनि गरिबका लागि केही गर्दैनन् । सधै धनी धनी नै रहन्छन्, गरिब गरिब नै रहन्छन् ।’

सम्बन्धित समाचार