
दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ । पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत रहेका छन् । मृतकका बुबा ४२ वर्षीय टीका कठायत, आमा ४० वर्षीया धनसरा कठायत, दिदी १७ वर्षीया बेल कठायत र दाजु १५ वर्षीय शम्शेर कठायत घाइते भएको वडा नं ४ का वडाध्यक्ष रमेश सिंजापतिले जानकारी दिए ।
उनले भने, ‘हामीले पहिरो गएको खबर २ बजे पाउने बित्तिकै उद्धार गर्यौंँ । एक जना सिकिस्त छन् । अन्यको अवस्था सामान्य रहेको छ ।’ बेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश कठायत छन् । पहिरामा परी सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।
त्यसै गरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका –५ कट्टीमा पहिराले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी मङ्गलबार रामघाट खोलामा आएको बाढी आठबीस नगरपालिका –१ रामघाट बजार पस्दा लाखौंँको क्षति भएको स्थानीयवासी नैनबहादुर शाहीले बताए ।
कर्णाली नदीमा पानीको बहाब बढेपछि रामघाट खोलाको पानी राकियो बजार पस्दा लाखौंको सरसमान बगाएको र मान्छे भागेर सुरक्षित ठाउँमा गएको प्रहरीले जनाएको छ ।

