
कोरोना संक्रमणका कारण पर्सामा थप दुई जनाको मृत्यु भएको छ।
वीरगञ्ज भिस्वा बस्ने ५७ वर्षका पुरुषको मंगलबार मृत्यु भएको हो । मंगलबार अपराह्न साढे ३ बजे उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यस्तै मंगलबार राति वीरगन्ज बिर्ताका ८४ वर्षका पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । गत साउन २७ गतेदेखि अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचार गराइरहेका ती पुरुषको उपचारको क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो ।
उनको कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

