नवकान्तिपुर संवाददाता
जनकपुरधाम, ३ भदौ ।

भारतीय सुरक्षाकर्मी एसएसबीले नियन्त्रणमा लिएका युवा छुटेका छन् । नेपाली सुरक्षा निकायको समन्वयमा आज पक्राउ परेका युवा साँझमा छुटेको महोत्तरी जिल्लाको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए ।
महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नं। बथनाहाका बलिन्द्र सदालाई भारतीय सुरक्षाकर्मी एसएसबीले आज नेपालमा प्रवेश गरेर नियन्त्रणमा लिएका थिए । सादाले माछा मार्ने क्रममा नेपाली सीमामा रहेको खाल्डोबाट बुद्धको मूर्ति फेला पारेको थियो । फेला परेको मूर्ति घर ल्याएपछि गाउँभरि हल्ला फैलिएको थियो ।
हल्ला फैलिएपछि सहश्राम क्याम्पमा रहेका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरी बलिन्द्रलाई भारतबाट मूर्ति चोरेर ल्याएको भन्दै कुटपिट गर्दै घरबाटै नियन्त्रणमा लिएर गएको थियो ।
नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा प्रवेश गरी नियन्त्रणमा लिएको हल्ला फैलिएपछि स्थानीय प्रशासनले उनको रिहाइका लागि पहल थालेको थियो । यता नेपाल सीमामा फेला परेका बुद्धको मूर्ति प्रहरीको संरक्षणमा रहेको सशस्त्र प्रहरी उपरीक्षक सापकोटाले जानकारी दिए ।

