काठमाडौंका यी ५ स्थान, जहाँ कोरोना संक्रमित ५० जनाभन्दा बढी भेटिए

काठमाडौं महानगरपालिकामा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। बिहीबारसम्म महानगरमा १ हजार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ जनाको ज्यान गइसकेको छ। उपत्यकाको कोटेश्वर क्षेत्र सबैभन्दा बढी जोखिममा देखिएको छ। त्यसपछि बल्खु, कलंकी, बालाजु, महाराजगञ्ज तथा असन क्षेत्रमा ५० भन्दा बढी संक्रमण देखिएका छन।

काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर क्षेत्र कोरोनाको हटस्पट देखिएको छ। वडाकी जनस्वास्थ्य अधिकारी मैया सैंजुका अनुसार त्यहाँ ९१ जना कोरोना संक्रमित भेटिइसकेका छन्। वडामा बुधबारमात्रै ११ जना संक्रमित थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ जारी छ। त्यसक्रममा संक्रमितहरु थप हुनसक्छन्। कोटेश्वर प्रहरी बिटपछाडिको असर्फी गल्लीमा मात्रै ३९ जनामा संक्रमण भेटिएको सैंजुले जानकारी दिइन्।



महानगरको वडानम्बर १४ स्थित बल्खु, कलंकी क्षेत्र पनि जोखिमयुक्त देखिएको छ। यस वडामा ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ। बल्खु, कुलेश्वर क्षेत्रमा ठूलो तरकारी तथा फलफूल बजार छ। त्यस्तै, तराईका जिल्लाबाट हालै आएका व्यापारी तथा कामदारहरुहरुसँग त्यहाँका मानिसहरुको घुलमिल हुने कारणले बढी जोखिम देखिएको वडाअध्यक्ष शोभा सापकोटाले बताइन्।

महानगरको वडा नम्बर १६ स्थित गोंगबु बसपार्कसँगै औद्योगिक क्षेत्र पनि रहेको बालाजु काठमाडौंमा संक्रमण बढी भएको अर्को स्थान हो। वडा सदस्य पुष्प महजर्नका अनुसार यहाँ ६४ जनामा कोरोना संक्रमण देखिइसकेको छ। यस वडामा एउटै घरमा चार जना संक्रमित भएका छन्।

महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार वडानम्बर २७ को असन, महाबौद्ध क्षेत्रमा ५० जना कोरोना संक्रमित भेटिसकेका छन्। तीमध्ये भोटाहिटीबाट वीर अस्पताल जाने गल्लीमा सबैभन्दा बढी संक्रमित भेटिएको वडा सदस्य नरेशमान महर्जनले जानकारी दिए। महाबौद्धमा सुरुमा भारतबाट आएर पसल गरी बसेका एक व्यवसायीको परिवारमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको थियो।

वडानम्बर ३ स्थित महाराजगञ्ज क्षेत्रमा पनि संक्रमितको संख्या उच्च देखिएको छ। वडाध्यक्ष दीपक केसीका अनुसार वडामा ७४ जना संक्रमित देखिएको छ। जसमध्ये ५ जना निको भइसकेका तथा १३ जना होम आइसोलेसनमा छन्।

सम्बन्धित समाचार