नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदाै ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः मनमुटाव सुरु भएको छ । पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्डले असन्तुष्टि जनाएका छन् । प्रचण्डले आज प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर पछिल्ला नियुक्ति तत्काल खारेज गर्न चेतावनी दिएका छन् । ‘आपसी सहमतिमा सरकारका काम कारवाही अगाडि बढाउने बताएपछि सहमतिको लागि कार्यदल बनेको परिप्रेक्षमा एकलौटी निर्णय गर्ने हो भने म कार्यदल भङ्ग गर्दिन्छु, सहमतिको पालना एक पक्षले मात्र गरेर हुँदैन’ भन्दै बालुवाटार पुगेर प्रचण्डले ओलीसँग कडा रूपमा प्रस्तुत भएको स्रोतले बतायो ।
जवाफमा ओलीले पहिलेदेखि तयार पारेको र थाति रहेकाहरुलाई नियुक्ति दिएको भन्दै आगामी दिनमा परामर्शपछि मात्र नियुक्त गर्ने बताएका थिए । तर प्रचण्डले भने अहिले नियुक्ति गर्नुपर्ने के को हतारो थियो भन्दै तत्काल खारेज गर्न चेतावनी दिएका थिए । यस्ता कदमले कार्यदलको काम प्रभावित हुने भन्दै सहमति नै नचाहेको हो भने आफूहरु पनि पछि हट्न तयार रहेको बताएका थिए ।
ओलीले गरिसकेको नियुक्ति खारेज गर्दा पार्टी र सरकारबारे नकारात्मक सन्देश जाने बताएपछि ‘त्यसो हो भने कार्यदल भङ्ग गर्छु’ भन्दै प्रचण्ड बाल्वाटारबाट बाहिरिएका थिए । प्रचण्डले कार्यदल भङ्ग गर्ने चेतावनी दिएपछि ओलीले कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाएर परामर्श गरेका थिए । उनले प्रचण्डसँग दुरी बढेको भन्दै कार्यदलको जिम्मेवार थप बढेको बताएका थिए । प्रचण्डलाई फकाएर सहमतिको खाका तयार पर्न ओलीले आग्रह गरेका थिए । प्रचण्डले कार्यदल भङ्ग गर्ने चेतावनी दिएको भन्दै ओलीले एक पक्षबाट कार्यदल भङ्ग गरेर भङ्ग नहुने बताएको कार्यदलका एक सदस्यले बताए ।
यसअघि सोमबारको मन्त्रिपरिषदले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । ती नियुक्तिहरूमा प्रचण्डले असन्तुष्टि जनाएका हुन् । भण्डारीलाई कार्यवाहक अध्यक्षका रूपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।
प्रचण्ड पक्ष थप सशंकित
ओलीले यसअघि गरेका धेरै सहमतिहरू अलपत्र परेको भन्दै पछिल्लो समय महाधिवेशनमा जाने र ओलीले अध्यक्षमा उम्मेद्वारी नदिने भन्ने सहमति पनि कार्यान्वयन हुनेमा प्रचण्ड र माधव नेपाल समूह विश्वस्त हुन सकेको छैन । ओलीकै कारण पार्टी फुटको तहसम्म विभाजित हुँदा पनि एक्लै विभिन्न नियुक्ति गर्ने आँट ओलीमा कसरी आयो भन्दै सो समूह थप परामर्शमा जुटेको छ । मन्त्रिपरिषदबाट अन्य केही नियुक्तिहरूसमेत भएको र त्यो गोप्य राखिएको हुनसक्ने आंशका सो समूहले गरेको छ ।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई भेटेर कार्यदल गठनपछिका नियुक्ति खारेजीका गर्न प्रचण्डलाई दबाब दिइरहेका छन् । ओली नसुध्रिने भन्दै सहमतिको लागि समय खर्चनु बेकार भएको सुझाव उनीहरूले प्रचण्डलाई दिएका थिए ।