
विराटनगर महानगरपालिकामा कोरोना भाइरस कोभिड १९ संक्रमित एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । प्रदेश १ मा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले विराटनगर ६ सरौचियाकी निवासी पुरुषको बिहीबार राती घरमा मृत्यु भएको जानकारी दिए ।
महाशाखाका अनुसार कोरोनाको लक्षणसँगै ती पुरुषले भदौ २ गते पीसीआर परीक्षण गरेका थिए । उनको रिपोर्ट ३ गते बुधबार पोजेटिभ आएसँगै होम आइसोलेसनमा बसेका महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।
महाशाखाका अनुसार मृतकको परिवारले पोजेटिभ रिपोर्ट आएसँगै समन्वय हुन नसकेको जनाएको छ । राती ८ बजे घरमै मृत्यु भएका पुरुषाको परिवारमा श्रीमती, २ छोरी र १ छोरा रहेको वडाध्यक्ष विजय कामतले जानकारी दिए ।
‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै थियो,’ वडाअध्यक्ष कामतले भने , ‘तर बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनु पर्ने अवस्था आयो ।’ मृतकमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।
यससँगै विराटनगर महानगरपालिकाभित्र कोभिड १९ संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । तर, होम आइसोलेसनमा बसेको अवस्थामा पहिलो मृत्यु भएको महानगरले जनाएको छ । महानगरपालिकामा कोभिड १९ का ३ सय ३१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । महानगरपालिकाको क्वारेन्टिनमा हाल १ सय ७ जना रहेको बताएको महानगरले १ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ ।
महानगरले सञ्चालनमा ल्याएको विभिन्न ७ वटा क्वारेन्टिनबाट हालसम्म ९ सय २६ जना डिस्चार्ज भइसकेको महाशाख प्रमुख कार्कीले जानकारी दिए ।

