
आज हरितालिका अर्थात् तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज हिन्दू धर्माबलम्बी महिलाले महादेवको पूजा आराधना गरी मनाउने गर्छन् । तीजमा शिवको पूजा आराधना गरेपछि शिव मन्दिरहरुमा नाचगान गरेर रमाइलो गर्ने परंपरा छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण तीजमा सामूहिक भेला हुन सरकारले रोक लगाएको छ । काठमाडौंको पशुपतिनाथसहित देशैभरीका शिव मन्दिर अहिले बन्द अवस्थामा छन् ।
नेपाली महिलाहरुले यस वर्ष सामुहिक जमघट नगरी आ-आफ्नै घरमा बसेर तीज पर्व मनाउँदै छन् । यसैबीच तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीको शुभकामनामा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गरिएको छ ।
त्यसैगरी प्रधामन्त्री ओलीले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ। त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन। विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’
ओलीले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन सबैमा विशेष अनुरोधसमेत गरेका छन् ।

