नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन, के छ प्रतिवेदनमा ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ। गत ३० गते गठित कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको हो।

‘साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ। आज भदौ ६ गते साँझ ४:४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन्।



नेकपाको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा विवाद उत्पन्न भएपछि त्यसलाई समाधान गर्न अध्यक्षद्वयको एक्लाएक्लै र सामूहिक भेटमार्फत प्रयत्न गरेका थिए। तर कुरा मिल्न नसकेपछि त्यसको जिम्मा कार्यदललाई दिएका थिए।

साउन ३० गते बिष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य थिए।

के छ प्रतिवेदनमा  ?
कार्यदलले गत ४ मंसिर २०७६ मा भएको सहमतिअनुसार नै प्रतिवेदनमा ओली र प्रचण्डको कार्यविभाजनलाई पुनव्र्याख्या गरिएको छ । ओलीले पूर्ण रूपमा सरकार सञ्चालन गर्ने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने गरी प्रतिवेदन तयार गरिएको छ । स्थायी कमिटीमा माग भएअनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु नपर्ने व्यवस्था गरिएको छ ।

प्रचण्डले पार्टी एकताको काम सकेर गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशनको तयारी गर्ने गरी कार्यविभाजन भएको छ । ओलीले सरकार सञ्चालन गर्ने क्रममा महत्वपूर्ण नियुक्तिका विषयमा पार्टीमा छलफल र निर्णय गरेर गर्ने गरी अगाडि बढ्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

यसअघि ओली र प्रचण्डबीच महाधिवेशन लक्षित पदमा भएका सहमतिबारे कार्यदलले कुनै सुझाव पेश गरेको छैन । महाधिवेशनमा ओली अध्यक्षमा नउठ्ने, प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउन सघाउने र महाधिवेशनपछि ओलीलाई सर्वोच्च नेता बनाउन पहल गर्नेलगायतका विषयमा ओली र प्रचण्ड सहमत भएको भएपनि कार्यदल यस विषयमा मौन रहेको पाइएको छ ।

सम्बन्धित समाचार