नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदाै ।
कोरोना भाइरस संक्रमणको उपचाारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नमाथि तत्काल कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले कारवाहीका लागि मातहतका निकायमा निर्देशन दिएको हो ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले तत्काल कानून बमोजिम कारवाही गर्न मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
‘देशका केही स्थानहरूमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्ता कार्य हुनरगर्न नदिन तथा संलग्न हुनेहरू उपर तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।