
उपत्यका नगरपालिका फोरमले काठमाडौंमा २० हजारसम्म व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाएको छ । समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिनसक्ने खतरा रोक्न पूर्वसतर्कता, रोकथाम र न्यूनीकरणका योजना एकीकृत रुपमा कार्यान्वयन गरिरहेको फोरमले परीक्षणको तयारी गरेको हो ।
यो विषयमा आज उपत्यका नगरपालिका फोरमको बैठक बस्दै छ । कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरु आफैँ सम्पर्कमा आए भने चाँडै सफलतामा पुगिने अधिकारीहरुको भनाइ छ ।
‘हामी तालिका नै बनाएर कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङमा जान्छौँ’, फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, ‘उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्र्याक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना छ । निषेधाज्ञामा हामीले उपत्यकावासीलाई घरमा बस्नु भनेका छौँ । यो अवधिमा केही पनि प्रयास नगर्ने र उहाँहरु घरमा मात्रै बस्ने हो भने समस्या समाधान हुँदैन’, उनले भने, ‘विदेशतिरको प्रयोगलाई हेर्ने हो भने पनि निषेधाज्ञाको समयमा ट्रेसिङ र टेस्टिङ गर्दै आइसोलेट गर्दै जानुपर्छ । हामी त्यही बैज्ञानिक विधि अपनाएर अघि बढ्ने निर्णयमा पुगेका छौँ ।’
नाकामा कडाइका लागि सरकारसँग अनुरोध गर्ने, सेवा नियमित र बन्द गर्ने जस्ता विषयमा यस अघि फोरमले निर्णय गरेपछि नगरपालिकाहरुले कार्यान्वयन गरेका थिए ।

