
काठमाडौंका थप केही अस्पताललाई कोरोना संक्रमित राख्ने गरी तयार गर्न सिफारिस गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) ले उपत्यकाभित्रका केही अस्पतालका आइसोलेसन बेडको संख्यासहित सरकारलाई बुझाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
ती अस्पताललाई थप व्यवस्थित गर्न र प्रयोग गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय र स्थानीय तहले गर्नुपर्ने डीसीएमसीले निर्णय गरेको छ । मनमोहन अस्पताल, नेसनल मेडिकल कलेज, जनमैत्री अस्पताललगायत १० वटा अस्पतालको शय्यासहित सिफारिस गरिएको प्रजिअ दाहालले बताए ।
स्वास्थ्य सेवा विभागले निजी अस्पताल प्रयोगका लागि थप कार्य योजना तयार गरेको छ । सरकारलाई तत्कालै निर्णय गर्न आग्रह गरिएकोले सोमबार बस्ने बैठकले यस विषयमा निर्णय गर्ने प्रजिअ दाहालले बताए ।
क्वारेन्टिनका रुपमा रहेका केही सेन्टरलाई पनि आइसोलेसनका रुपमा विकास गर्न सिफारिस गरेको छ । यस्तै तालिम केन्द्रहरुलाई पनि आइसोलेसनको रुपमा प्रयोग गर्ने गरी तयार गर्न सिफारिस गरिएको छ । यी स्थान पहिलो चरणमा तयार गरेर बाँकी केही ठूला होटललाई पनि प्रयोग गर्न सकिने डीसीएमसीको सिफारिस छ ।

