प्रकाश समीर
काठमाडौं, ८ भदौ ।
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आफ्ना सदस्यहरूलाई निःशुल्क कोरोना बीमा गराइदिएको छ । सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएपछि सुनचाँदी व्यवसायमा देखिएको व्यवसायिक कठिनाई र विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै संघले आफ्ना सदस्यहरूलाई निःशुल्क कोरोना बीमा गराइदिएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा यदि संकमण भइहालेमा परिवारलाई हुन सक्ने आर्थिक भारमा राहतको अनुभूति होस् भन्ने अपेक्षासहित यो कार्यक्रम अघि सारिएको संघका अध्यक्ष टंकबहादुर बराइलीले बताए । अध्यक्ष बराइलिकाअनुसार प्रत्येक सदस्यहरूलाई रू एक लाख बराबरको निःशुल्क बीमा गराइएको हो । कोरोना महामारीसँग जुधिरहेका व्यवसायीहरू संक्रमित भइहाले धेरै दिन आइसोलेसनमा बस्नु पर्ने परिवारका सदस्यहरू पनि उच्च निगरानीमा रहने हुँदा आर्थिक रूपमा पर्न सक्न सम्भावित अप्ठ्यारोलाई मध्यनजर गर्दै बीमा कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
लकडाउनका कारण थला परेको नेपाली अर्थतन्त्रमा महंगो सुन खरिद गर्ने उपभोक्ताको अभावमा यतिबेला व्यवसाय झनै लथालिङ्ग भएको छ । एकातर्फ व्यवसाय पनि संकटान्मुख हुनु र अर्कोतर्फ कोरोनाको महामारी दिनप्रतिदिन बढ्नुले व्यवसायमा थप समस्या देखिएकोले यस विषम परिस्थितिमा बीमा कार्यक्रम अपरिहार्य जस्तै भएको अध्यक्ष बराइलीको भनाइ छ । उनकाअनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त अजोड इन्सुरेन्स लि.सँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य बीमामा संघमा आबद्ध व्यवसायीहरू सहभागी भएका छन् ।
विश्वभरि छाएको आर्थिक मन्दीका कारणले अन्य व्यवसायिक क्षेत्रहरू लगानी गर्न भरपर्दो नहुनु, हङकङको विषयलाई लिएर चाइना र अमेरिकी बीचको तनावका बढ्नु र सुन उत्पादन गर्ने खानीहरू कोरोनाका कारणले पूर्णरूपमा सञ्चालन नहुनुले अहिले सुनको मूल्य एकाएक आकाशिएको व्यवसायीहरूको भनाइ छ ।