नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन सुझाव दिइएको छ। उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको हो।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पीसीआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको बताए। यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो।
निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताए । त्यस्तै उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको छ।
