
वीरगञ्ज र रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी लडेर घाइते भएपछि उपचारको लागि अस्पताल जाँदा कोरोना संक्रमण देखिएको थियो। योसँगै रुपन्देहीमा कोरोना संक्रणको कारण मृत्यु हुने संख्या ६ पुगेको छ ।
यसैबीच वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अघि मृत्यु भएका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जिराभवानी गाउँपालिका–४ घर भएका उनको आइतबार राति १० बजे मृत्यु भएको थियो ।
मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो। गएराति उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनमा मुटुको समेत समस्या रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मंगलबार ज्यान गुमाउने दुईसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५९ पुगेको छ ।

