आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले बिहान देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानमा यस्तै वर्षा जारी रहने सम्भावना छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।



राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– ‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

सम्बन्धित समाचार