महेश कठायत
काठमाडौं, १० भदाै ।
चारवर्षे कार्यकाल सकिन केही दिन बाँकी छँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यतिबेला चर्चा चलेको छ । सरकारले कुलमानलाई अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी भइरहेका बेला उनको चर्चा चुलिएको हो । २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त भएका घिसिङको कार्यकाल सकिनै लाग्दा उनी प्राधिकरणमा दोहोरिनु हुँदैन भन्ने मतभन्दा पुनः निरन्तरता दिनु पर्छ भन्ने पक्षमा ठूलो जनमत देखिन्छ ।
कार्यकालको अन्त्यतिर पुगेका कुलमानलाई पुनः नियुक्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा सरकारलाई दबाब आइरहेका छ । यसैबीच मंगलबार कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फेसवुक र ट्वीटरमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएको हल्ला समेत फैलाएका छन् । मंगबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान पुनः नियुक्त गरेको भन्दै फेसवुक र ट्वीटरमा बधाई समेत दिएको देखिन्थ्यो । तर उक्त हल्लालाई उनीहरूले सरकारलाई दबाब दिएको रूपमा अथ्र्याएका छन् ।
जनताको नजरमा हिरो कुलमान
चारवर्षे कार्यकालमा एउटा कालो युगको अन्त्य गरी देशलाई लोडसेडिङ मुक्त बनाएपछि धेरैले घिसिङलाई एउटा हिरोको रूपमा समेत लिने गरेका छन् । सरकारले दिएको जिम्मेवारीलाई घिसिङ नेतृत्वले सफलतापूर्वक सम्पन्न मात्र गरेन, प्राधिकरणलाई अहिले व्यवसायिक रूपमा सफलता उन्मुख पनि बनाएको छ । घिसिङकै कार्यकालमा नेपालमा लोडसेडिङ अन्त्य मात्र भएन, चरम घाटामा गएको प्राधिकरण अर्बौको नाफामा पनि पुगेको छ । यसैकारण अहिले अन्य सार्वजनिक संस्थानभन्दा प्राधिकरण अब्बल देखिएको छ । विद्युत उत्पादन र ग्राहकसँगको पहँुच बढेको छ । विद्युत चुहावट घटेको छ । दैनिक १८ घन्टासम्मको लोडसेडिङ हुने दिनहरूको अन्त्य गर्दै वर्खायाममा नेपाल बिजुली बेच्ने अवस्थामा पुगेको छ ।
को–को छन् नेतृत्वको दौडधुपमा ?
कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिँनै लाग्दा नेपाल विद्युत प्राधिकरणको नेतृत्वको लागि लागि दौडधुप पनि सुरू भइसकेको छ । नयाँ नेतृत्वको दौडमा घिसिङसँगै हितेन्द्रदेव शाक्य, शेरसिंह भाट, नवीनराज सिंह, सुशील ज्ञवाली, शान्तिलक्ष्मी शाक्य लगायतका छन् ।
कसको चाहना हावी होला ?
आफ्नो कामबाट नै आम जनतामाझ परिचित बनेका कुलमान घिसिङलाई वर्तमान सकारले भने त्यति रूचाएको छैन । त्यसैले अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा कुलमानलाई पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक नभए पनि सरकारले नरूचाएका कारण उनको पुनः नियुक्ति हुनेमा कतिपयले आशंका गरेका छन् । कुलमानलाई दोहोर्याउन विशेष गरेर विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ तर उनी दुवै जना कुलमानप्रति रूष्ट रहेको बुझिएको छ । मन्त्री परिषद्ले गर्ने विभिन्न नियुक्तिहरूमा प्रधानमन्त्री या मन्त्रीहरूको आर्शिवाद हावी हुने गर्दछ । यसरी हेर्दा कुलमान घिसिङको दोहोरिने सम्भावना अत्यन्त न्युन देखिए पनि व्यापक जन दवावका कारण बाध्यतामा परेरै भए पनि सरकारले प्राधिकरणको कार्यकारी प्रमुखमा घिसिङलाई नै दोहोर्याउने सम्भावना पनि उक्तिकै प्रबल छ ।