काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्बियो

काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा जारी रहने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौँ उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसाय बन्द हुने छन् । कोरोना संक्रमणको फेलावट रोक्न निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा आजराति सकिँदै थियो । काठमाण्डौ उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएकाले एक हप्ता थप गर्ने निर्णय भएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।



यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

काठमाण्डौ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञाका बेला अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ ।

सम्बन्धित समाचार