नवकान्तिपुर संवाददाता
विराटनगर, १० भदौ ।

विराटनगरस्थित उच्च अदालतका दुईजना कर्मचारीमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार ४८ वर्षीय एक न्यायाधीशसँगै दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा मंगलबार साँझ न्यायाधीश र उनको सवारी चालकमा संक्रमण देखिएको सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार सवारी चालकमा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएपछि न्यायाधीश उनका अंगरक्षक र सवारी चालक तीनै जनाले भदौ ७ गते आइतबार स्वाब परीक्षणका लागि दिएका थिए ।
कोशीमा स्वाब परीक्षण गराएकामध्ये मंगलबार साँझ दुई जनाको पोजेटिभ र न्यायाधीशका अंगरक्षकको रिपोर्ट भने नेगेटिभ आएको छ । न्यायाधीशको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र कोरोनाको लक्षण पनि नदेखिएको बताएका सुवेदीले न्यायाधीश हाल घरमा सुरक्षित बसिरहेको उल्लेख गरे ।
अर्कोतर्फ न्यायाधीशका सवारी चालकलाई भने उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको छ । न्यायाधीशमा संक्रमण देखिए पनि उच्च अदालतको कामकार्वाहीमा अवरोध नहुने सुवेदीले जानकारी दिए ।
यसअघि विराटनगरस्थित मोरंग जिल्ला अदालतमा समेत न्यायाधीश र अर्का एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । जसका कारण अदालतको काम कार्वाही करिब ६ दिन अवरोध हुन पुगेको थियो । यससँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या ८ सय ५५ पुगेको महानगर जनस्वास्थ्य महाशाखाले जनाएको छ।
महानगरबाट हालसम्म २ सय ६५ जना निको भएको रमेश कार्कीले जानकारी दिए ।

